
मलंगवा – सर्लाही जिल्लाका २० वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०८२/८३ मा केन्द्र सरकारबाट करिब २३ अर्ब ४३ करोड ८५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेका छन्। समानीकरण, सशर्त, विशेष र सम्पूरक शीर्षकमा विनियोजन गरिएको यो रकम जिल्लाभित्रका ११ नगरपालिका र ९ गाउँपालिकामा बाँडिएको हो।
सबैभन्दा धेरै रकम ईश्वरपुर नगरपालिकाले पाएको छ, जसले कुल ७२ करोड २३ लाख रुपैयाँ प्राप्त गरेको छ। यसमध्ये समानीकरण अनुदान २९ करोड ५४ लाख, सशर्त अनुदान ४२ करोड ८२ लाख, विशेष अनुदान २ करोड ७५ लाख र सम्पूरक अनुदान २२ लाख ९० हजार रुपैयाँ रहेको छ।
ईश्वरपुरपछि धेरै रकम प्राप्त गर्नेमा गोडैता नगरपालिका ५८ करोड ५० लाख, मलंगवा नगरपालिका ५० करोड ६६ लाख र हरिपुर नगरपालिका ४८ करोड ८० लाख रुपैयाँसहित अगाडि छन्। गाउँपालिका तर्फ सबैभन्दा बढी चकघट्टा गाउँपालिकाले ३५ करोड ६२ लाख रुपैयाँ प्राप्त गरेको छ।
साथै, रामनगर, पर्सा, विष्णु र चन्द्रनगर गाउँपालिकाले पनि जनही ३० करोडभन्दा बढी अनुदान पाएका छन्। शिर्षकतर्फ वितरण विवरण हेर्दा सर्लाही जिल्लाका स्थानीय तहहरूले समानीकरण अनुदान अन्तर्गत ५८ करोड ८९ लाख, सशर्त अनुदानमा १३८ करोड ५२ लाख, विशेष अनुदानमा १२ करोड ३ लाख र सम्पूरक अनुदान अन्तर्गत ९ करोड ३८ लाख रुपैयाँ पाएका छन्।
उल्लेखित रकम स्थानीय तहहरूमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न उपयोगी हुने अपेक्षा गरिएको छ।