उपचार खर्च तिर्न नसक्दा अस्पतालमै रोकिएको सर्लाहीकी पविताको शव सांसद शर्माको पहलमा परिवारको जिम्मा

२०८२ जेष्ठ २०, मंगलवार १५:५१

सर्लाही – उपचार खर्च तिर्न नसक्दा अस्पतालले सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की पविता यादवको शव अस्पतालमै रोकि राखेको थियो। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले करिब १० लाख रुपैयाँ मिनाहा गराएपछि शव मृतकका श्रीमान् अंगेश यादवलाई हस्तान्तरण गरिएको छ।

पविता यादवको पित्तथैलीको अपरेसनपछि अवस्था जटिल बनेको थियो। जनकपुरको मुस्कान अस्पतालमा सुरुमा उपचार गरिएको थियो भने पछि थप उपचारका लागि उनलाई काठमाडौं मेडिकल कलेज (केएमसी) सारिएको थियो। केएमसीमा महिनौँ भेन्टिलेटरमा राखेर उपचार भए पनि केही दिन अघि उनको मृत्यु भयो।

तर, आर्थिक अवस्था कमजोर भएका श्रीमान् अंगेश यादवसँग अस्पताल खर्च तिर्ने क्षमता नभएकाले अस्पतालले शव रोकेको थियो। डा. शर्माले सम्पूर्ण खर्च मिनाहा गराएपछि शव बुझाइयो। डा. शर्माले उनको आर्थिक अवस्थालाई बुझेर उपचारमा लागेको १० लाख रुपैयाँ मिनाहा गरिदिए।

शव सर्लाही पुर्‍याउन मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको समन्वयमा सवारीको व्यवस्था गरिएको थियो। अस्पतालको बक्यौता तिर्न नसक्दा आफन्तको शव नपाउने अवस्था आइपर्दा सांसद शर्माको हस्तक्षेपले राहत मिलेको छ। शर्माको यो सहानुभूतिपूर्ण कार्यले यादव परिवार मात्र होइन, सम्पूर्ण सर्लाही जिल्लावासीलाई भावुक बनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार