सप्तरीको एक गाउँपालिकामा भ्रष्टाचार प्रकरण: मिडियाकर्मीसहित पाँच जना विरुद्ध मुद्दा दायर

२०८२ जेष्ठ २०, मंगलवार २१:३८

सर्लाही – सार्वजनिक खरिद प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ। आरोपितहरूमा स्थानीय निकायका दुई जना कर्मचारीसँगै तीन जना मिडिया संस्थासँग आवद्ध व्यक्ति रहेका छन्।

सप्तरीस्थित तिलाठी कोइलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह–लेखापाल सत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालि (तिलाठी कोइलाडी) का संस्थापक सदस्य भूषणकुमार सिंह, डच मिडिया प्रालि (काठमाडौं) का निर्देशक रवि अर्याल तथा प्रभाव राष्ट्रिय दैनिक प्रालिका प्रबन्ध निर्देशक कृष्णबहादुर कार्कीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कारबाहीको मागसहित आरोपपत्र पेश गरिएको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा पालिकाबाट सार्वजनिक गरिएको ठेक्का नम्बर ३ र ६ अन्तर्गतका चार निर्माण परियोजनाका सूचना सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत, राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित नगराई, कर्मचारी र मिडिया प्रकाशकबीच मिलेमतोमा सूचना लुकाएर प्रकाशित गरिएको पाइएको छ।

उक्त सूचना प्रेस काउन्सिल नेपालको रेकर्डमा समेत नभेटिएको उल्लेख गर्दै अख्तियारले एक प्रति मात्र झुटो पत्रिका छापी, विल बिलाई रकम भुक्तानी गरिएको जनाएको छ। यसै प्रक्रियाबाट जम्मा तीन लाख १६ हजार ४१० रुपैयाँ भ्रष्टाचार गरिएको दाबी गरिएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा, सूचना ढाकछोप गरी सार्वजनिक रुपमा नप्रकाशित गर्ने नियतसाथ कार्य गरिएको पुष्टि भएकाले, संलग्न सबै व्यक्तिहरूलाई कैद र जरिवाना सहितको सजाय हुनुपर्ने माग राखिएको उल्लेख छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार