मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन आजदेखि सुरु, बजेट र नीति कार्यक्रम प्रस्तुत हुने

२०८२ जेष्ठ २१, बुधबार ११:४४

सर्लाही — मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुँदैछ। प्रदेशसभा सचिवालयका अनुसार बैठक जनकपुरधामस्थित सभा भवनमा बस्नेछ। सचिव बासुप्रसाद कोइरालाले जानकारी दिएअनुसार, जेठ ११ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो।

सोही सिफारिसका आधारमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८३(१) बमोजिम अधिवेशन आह्वान गरेकी हुन्। सचिवालयले प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ (१) र (४) अनुसार सम्पूर्ण सदस्य र सरोकारवालालाई बैठकबारे जानकारी गराइसकेको छ।

यस अधिवेशनको मुख्य एजेन्डामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने योजना रहेको सचिवालयले जनाएको छ। तर, बैठक सुरु हुनुअघि नै सभामा अवरोध हुने सम्भावना देखिएको छ। प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपालले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरुद्ध गर्ने तयारी गरेको छ।

पार्टीका सचिव शैलेन्द्रप्रसाद साहका अनुसार, यसअघि भएको सहमति अनुसार समिति गठन नगरिएकाले सभाको कार्यसूची अघि बढ्न नदिने आन्तरिक निर्णयमा पुगेका छन्। अबको बैठकले बजेट प्रक्रिया अघि बढाउने कि राजनीतिक रस्साकस्सीमा अल्झिने भन्ने प्रश्नमा सबैको ध्यान केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार