१८ वर्षको सपना पूरा : विराट कोहलीको भावुक सन्देश – यो जित हार र आशुको सम्मान हो

२०८२ जेष्ठ २१, बुधबार १२:०२

जनकपुर – अन्ततः रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को १८ वर्ष लामो प्रतीक्षा टुंगिएको छ।

मंगलबार राति सम्पन्न आइपिएल फाइनलमा पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले पहिलो पटक प्रतिष्ठित ट्रफी आफ्नो पोल्टामा पार्‍यो। उपाधिपछि टोलीका स्टार खेलाडी विराट कोहलीले आफ्ना समर्थकहरूप्रति भावुक सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत कोहलीले लेखे, “यो केवल एउटा उपाधि मात्र होइन, १८ वर्षको निरन्तर संघर्ष, अविश्वसनीय समर्पण र कहिल्यै नछोड्ने विश्वासको प्रतिफल हो।”

उनले थप लेखे, “हामीलाई हरेक हारपछि पनि साथ दिने ती निष्ठावान समर्थकहरूप्रति यो उपाधि समर्पित छ। यो जित ती सबै निराशाहरू, अधुरा सपनाहरू र टुटेका हृदयहरूको लागि हो।” कोहलीका अनुसार यस सिजन आरसीबीका लागि विशेष मात्र होइन, ऐतिहासिक पनि रह्यो। उनले भने, “यो टोलीले जुन तरिकाले सिजन खेल्यो, म त्यो कहिल्यै बिर्सनेछैन। हामीले एउटै सपना देख्यौं र अन्ततः त्यसलाई साकार बनायौं।”

विराट कोहली आरसीबीसँग सुरुदेखि नै आवद्ध छन्। लामो समय कप्तानको जिम्मेवारी सम्हालेका उनले टिमप्रति देखाएको निष्ठा र समर्पण प्रशंसनीय छ। अन्ततः त्यो मेहनत र धैर्यले फल दिएको छ। आरसीबीको पहिलो आइपिएल उपाधिसँगै भारतीय क्रिकेटका अनुयायीहरूको पनि एक सपना पूरा भएको अनुभूति भइरहेको छ। यस जितसँगै विराट कोहलीको करिअरमा एउटा अविस्मरणीय अध्याय थपिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार