
एसपी यादव, सर्लाही – सर्लाही क्याम्पस मलंगवा सर्लाहीका प्रमुख राजेश कुमार यादवमाथि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जेठ १९ गते सोमबार झुठा आरोपमा मुद्दा दर्ता गरी जेठ २० गते मंगलबार बिहान करिब १०:३० बजेको समयमा क्याम्पस गेट अगाडिबाट यादवलाई सादा पोसाकमा खटिएका प्रहरीहरुले नियन्त्रणमा लिएको हो । सर्लाही प्रहरीले अधिकारको चरम दुरुपयोग गरि उनिमाथि ‘अपराधिक उपद्रव’ को झुठा मुद्दा दर्ता गरेको सर्लाही क्याम्पस संचालक समितीका अध्यक्ष नागेश्वर रायद्वारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याम्पसमा नियमित कार्यका लागि जाँदै गर्दा प्रहरीले गेट नजिकैबाट क्याम्पस प्रमुख यादवलाई पक्राउ गरी अनावश्यक रूपले हिरासतमा लिएको स्थानीयहरुले बताएका छन् । यस घटनालाई लिएर सर्लाहीको शैक्षिक क्षेत्र, नागरिक समाज तथा यादवका सहकर्मीहरू आक्रोशित भएका छन् । उनीहरूका अनुसार, प्रहरी प्रशासनले आफ्नो पद र पावरको चरम दुरुपयोग गर्दै एक निर्दोष शिक्षासेवीमाथि ठुलो अन्याय गरेको हो ।
क्याम्पस प्रमुख यादव लामो समयदेखि शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन् र सर्लाही क्याम्पस मलंगवाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका छन् । उनको अस्वाभाविक गिरफ्तारीले प्रहरी प्रशासनको क्रियाकलापमाथि गम्भीर प्रश्न उठाएको छ ।
यस घटनाको छानबिन गरिनुपर्ने माग राख्दै सर्लाही क्याम्पसका प्राध्यापक, कर्मचारी, स्थानीय बौद्धिक वर्ग, शिक्षक संघ र विद्यार्थी संगठनलगायतले कडा विरोध जनाएका छन् । उनीहरूले दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै न्यायको पक्षमा एकजुटता देखाइरहेका छन् । विद्यार्थी संगठनले मंगलबार एक र्याली निकाल्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी क्याम्पस प्रमुख यादवको रिहाइको माग गर्दै दबाब सृजना गरेको थियो ।
क्याम्पस प्रमुख यादवलाई यथाशक्य चाँडो रिहा गरिनुपर्ने मागसहित जनस्तरबाट दबाब बढ्दो क्रममा रहेको छ । यदि तुरुन्त रिहा नगरिए आन्दोलन चर्काउने चेतावनीसमेत क्याम्पस संचालक समिती, विद्यार्थी संगठन र स्थानीय अधिकारकर्मीहरूले दिएका छन् ।
मलंगवा नगरपालिका- ०७ मुसैलीका विभिन्न राजनीति दलका प्रतिनिधि तथा स्थानीय वडाबासीहरुले वडा अध्यक्ष मो. इसा मिकरानिसंग आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा वडा नं. ०७ मा सञ्चालित वडा स्तरीय योजनाको खर्च विवरण तथा सो अवधिमा वडा कार्यालयमा कार्यरत रहेका कर्मचारीहरूको विवरण विगत देखिनै माग गर्दै आएका थिए ।
जसपा नेपालबाट वडा अध्यक्ष पदका उम्मेदवार बिबेक कुमार यादव र स्थानीय किसन कुमार यादवले जेठ ११ गते आइतबार राती करिब ९:३० बजे आफ्नै घर अगाडि बसि स्थानीयहरूसँग विवरण मागको विषयमा छलफल गरिरहेका थिए । छलफलकै क्रममा वर्तमान वडा अध्यक्ष मिकरानि र निजका छोराहरू क्रमशः ईमरान मिकरानि, रजा हुसेन र ईरफान मिकरानि लगायतले सुनियोजित रुपमा बिबेक कुमार यादव र अर्का स्थानीय किसन कुमार यादवमाथि भौतिक आक्रमण गरेका थिए । सो आक्रमणमा परी बिबेक कुमार यादवको देब्रे कानको जालि फुट्नुका साथै सो कानको सुन्ने क्षमता ३५.६ प्रतिशतले ह्रास भएको छ । भने किसन कुमार यादवको टाउको फुटी ६ वटा टाँका लगाउनु परेको छ ।
भौतिक कारबाहीमा परेका पीडितहरु न्याय पाउने आसमा रहेको तर जिल्ला प्रहरी कार्यालय सर्लाहीले पीडितहरूमाथि उल्टै झुठा मुद्दा दर्ता गरि थप पिडाको शिकार बनाएको हो । आर्थिक चलखेलमा पिडक वडा अध्यक्ष मिकरानिको तर्फबाट पीडितहरूविरुद्ध ‘अपराधिक उपद्रव’ मुद्दा दर्ता गराइएको छ ।
मुख्य कुरा के छ भने, सो घटनामा कुनैपनि संलग्नता नभएका सर्लाही क्याम्पस मलंगवाका प्रमुख तथा शिक्षाविद् राजेश कुमार यादवलाई समेत मुछिएको छ । राजनीतिक पूर्वाग्रह, व्यक्तिगत रिसिइवी तथा सामाजिक प्रतिष्ठामा आँच पुर्याउने नियतले शिक्षण संस्था प्रमुखमाथि गरिएको यस्तो झुटो मुद्दा प्रति क्याम्पस संचालक समितिले घोर भत्सर्ना व्यक्त गरेको छ । साथै स्थानीय बौद्धिक तथा नागरिक समाज आक्रोशित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा प्रहरी आतंकको शृङ्खला जारी रहेको छ । पक्राउ पुर्जी जारीनै नगरी सुनियोजित रुपमा पक्राउ गरिनुले सर्लाही प्रहरी नेतृत्व आफैमा चुकेको छ । साथै क्याम्पस संचालक समिती वा क्याम्पस प्रशासनलाई बिना जानकारी क्याम्पस प्रमुखलाई पक्राउ गरेकोले क्याम्पसको नियमित कामकाजमा अत्यधिक अबरोध पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिप्रका सर्लाही मलंगवाले दर्ता गरेको झुठा मुद्दाको विषयमा नेपाल प्रहरीका आईजिपि दिपक थापालाई प्रत्यक्ष फोन सम्पर्क गर्दा वहाँ अर्जेन्ट बैठकमा भएको कारणले आफ्नो पिएसंग कुरा गर्न सुझाए । आईजिपि थापाका पिए डिएसपी दिपक जिसिले भने, अनुसन्धानमा गलत नियत राखेर निर्दोषमाथि मुद्दा दर्ता गरेको छ, भने सो प्रहरी अधिकारीमाथि पनि मुद्दा लाग्ने र कारबाही हुने बताउदै उनले भने, मुलकी फौजदारी अपराध संहिताको दफा ९९ अनुसार बदनियतपुर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने उनले बताए । र साथै यस विषयमा तत्काल सर्लाहीको प्रहरी प्रमुखसंग बुझ्ने जनाए ।
कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी पाएको प्रहरी अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनु हुदैन । यदि यस्तो गरेको पाइएमा सो प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयासम्म जरिवाना वा दुबै सजाय हुने प्रावधान ऎनमा रहेको छ ।
सर्लाहीमा प्रहरीको आतंक र यस झुठा मुद्दा दर्ताको विषयमा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदिलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा उनले भने, सर्लाहीको प्रहरी प्रमुखलाई निष्पक्ष रुपमा तटस्थ भएर काम गर्न आदेश दिएको छु । यस विषयमा तत्काल थप बुझ्ने भन्दै वहाँले न्याय मर्दैन तसर्थ पिडितहरुलाई आफु कहाँ पठाउन उनले बताए ।