
सर्लाही — मधेश प्रदेशसभाको आजको बैठक विपक्षी दलहरूको कडा अवरोधका कारण सुरु भएलगत्तै स्थगित गरिएको छ। निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरी सुरु भएको बैठक केही समयमै अवरोधका कारण रोकिएको हो।
जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित योजनाहरू ‘बिक्री–वितरण’ गरिएको आरोप लगाउँदै ती विषयमा संसदीय छानबिन समिति गठनको माग गरेका छन्।
उनीहरूको लगातारको अवरोधले बैठक सञ्चालन हुन नसकेपछि सभामुखले बैठक भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्। विपक्षी दलहरूका अनुसार योजनाको असमान वितरण र सम्भावित अनियमितताप्रति प्रश्न उठाउँदै उनीहरूले गम्भीर छानबिनको माग गरिरहेका छन्।