गाजामा २०० पत्रकारको मृत्यु, इजरायली आक्रमणलाई ‘अकल्पनीय नरसंहार’ को संज्ञा

२०८२ जेष्ठ २१, बुधबार १७:३२

एजेन्सी – युरोपेली पत्रकार महासंघ (EFJ) ले इजरायलद्वारा गाजामा सञ्चालित सैन्य कारबाहीलाई “पत्रकारहरूविरुद्धको अकल्पनीय नरसंहार” को संज्ञा दिँदै कडा विरोध जनाएको छ।

महासंघका अनुसार, सन् २०२३ को अक्टोबरदेखि गाजामा जारी आक्रमणमा अहिलेसम्म कम्तीमा २०० पत्रकार तथा मिडियाकर्मीले ज्यान गुमाइसकेका छन्। बुधबार बुडापेस्टमा सम्पन्न दुईदिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा EFJ ले गाजामा पत्रकारहरूमाथि भएका आक्रमणलाई गम्भीर मानवअधिकार उल्लङ्घनको रूपमा लिएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “इजरायली सेनाले युद्ध अपराधको प्रत्यक्ष साक्षी बन्न सक्ने पत्रकारहरूलाई निशाना बनाई मिडिया नै बन्द गर्न खोजिरहेको देखिन्छ।” गाजामा सञ्चारमाध्यमहरूमाथि भइरहेको दमन र पत्रकारको हत्या प्रति विरोध जनाउँदै महासंघले ४७ युरोपेली मुलुकका १२० सदस्य संस्थाहरूको संयुक्त हस्ताक्षरसहितको घोषणापत्र सार्वजनिक गरेको छ।

EFJ ले युरोपका सबै मिडियाकर्मीलाई आफ्ना प्यालेस्टिनी सहकर्मीहरूसँग एकता जनाउँदै प्रतीकात्मक सतर्कता कार्यक्रमहरू आयोजना गर्न आह्वान गरेको छ। साथै, युरोपेली संघ (EU) का निकायहरूलाई गाजाका पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न र मध्य पूर्वमा सूचना तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर्न हस्तक्षेप गर्न पनि आग्रह गरिएको छ।

इजरायली कारबाहीले गाजामा सामान्य नागरिक र सञ्चारकर्मी दुवैलाई नरसंहारको शिकार बनाएको भन्दै EFJ ले तत्काल युद्धविराम र अन्तर्राष्ट्रिय मिडियाको स्वतन्त्र पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। महासंघले पत्रकारहरूमाथिको आक्रमण प्रेस स्वतन्त्रता र मानवअधिकारका मौलिक मूल्यहरूविरुद्ध भएको भन्दै अपराधीलाई उन्मुक्ति दिन नहुने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार