
सर्लाही — सर्लाही जिल्लाको बसबरिया गाउँपालिकामा पहिलोपटक लेखा अधिकृत पदस्थापित भएका छन्। बुधबार श्याम प्रसाद यादवले गाउँपालिकाको लेखा प्रमुखका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।
गाउँपालिकाको प्रशासनिक पक्ष लेखापालको भरमा सञ्चालन हुँदै आएको अवस्थामा यादवको पदस्थापनाले वित्तीय व्यवस्थापनमा थप पारदर्शिता र प्रभावकारिता आउने अपेक्षा गरिएको छ।
लेखा प्रमुख यादवको हाजिरी अवसरमा गाउँपालिका अध्यक्ष रामसिहासन राय र उपाध्यक्ष सरिता कुमारी साह विशेष रूपमा उपस्थित थिए। यादव यसअघि सर्लाहीकै इश्वरपुर नगरपालिका कार्यलयमा कार्यरत थिए।
नयाँ लेखा अधिकृतको स्वागतका लागि बसबरिया गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, जनप्रतिनिधिहरू र कर्मचारीहरूले कार्यालय परिसरमै स्वागत कार्यक्रमको आयोजना गरेका थिए।