सर्लाहीमा विपद् व्यवस्थापनमा सक्रियता, सुरक्षादेखि राहतसम्म तयारी

२०८२ जेष्ठ २१, बुधबार १९:३६

सर्लाही — संभावित प्राकृतिक विपद्‌हरूलाई मध्यनजर गर्दै सर्लाहीमा विपद् व्यवस्थापन कार्ययोजना कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ।

जिल्लाको सदरमुकाम मलंगवामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले आगामी दिनमा हुन सक्ने बाढी, डुबान र अन्य विपद्का जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तथा समन्वय गर्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तथा समिति अध्यक्ष तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले सुरक्षादेखि राहत व्यवस्थासम्मका विषयमा निर्णय लिएको छ।

बैठकले सबै स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने, विपद्‌का बेला आवश्यक पर्ने सामग्रीहरू सुरक्षा निकायलाई उपलब्ध गराउने, खोला तथा नदी किनारमा तटबन्ध निर्माण र मर्मतलाई प्राथमिकता दिने, राहत सामग्रीको तयारी गर्ने र सबै सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णय गरेको छ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, राजनीतिक दलका प्रतिनिधिहरू तथा विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

यसैबीच, मौसमविद्हरूले यस वर्ष औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको र त्यसबाट केही क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएका छन्। यस्तो अवस्थामा सर्लाहीमा समयमै विपद् व्यवस्थापन सम्बन्धी तयारी थालिनु सकारात्मक पहलका रूपमा लिइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार