मधेशमा सडक दुर्घटना न्यूनीकरणको अभियान, ट्राफिक सचेतना सप्ताह सर्लाहीबाट सुरु

२०८२ जेष्ठ २२, बिहीबार ११:१७

सर्लाही – सडक दुर्घटनामा दिनानुदिन वृद्धि भईरहेको सन्दर्भमा मधेश प्रदेश सरकारको अगुवाइमा सर्लाहीबाट ट्राफिक सचेतना सप्ताह सुरु गरिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयोजनमा सञ्चालन गरिएको यस अभियानको उद्देश्य सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्नु हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार, सर्लाहीमा मात्र पछिल्ला १८ दिनमा १० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। विशेषगरी १५ देखि ३० वर्ष उमेर समूहका युवाहरू दुर्घटनाका प्रमुख पीडित बनेका छन्। “यो सप्ताह सवारी साधन प्रयोग गर्ने सबैमा सचेतना फैलाउने उद्देश्यले सुरु गरिएको हो,” उनले बताए।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले पछिल्लो समय दुर्घटनाको भयावह अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले भने, “सडक दुर्घटना केवल व्यक्तिगत क्षति होइन, सामाजिक चुनौती पनि हो। यसलाई न्यूनीकरण गर्न जनचेतना अपरिहार्य छ।” यस्तै प्रमुख जिल्ला अधिकारि तुलसी बहादुर श्रेष्ठले कार्यक्रमले सचेतना सम्बन्धि ज्ञान सम्प्रेषण हुने अपेक्षा लिएको बताए।

नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरले सडक दुर्घटनामा बढ्दो मृत्यु दरप्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, “हामी पत्रकारहरूले हरेक दिन दुःखद समाचार लेख्नुपर्दा पीडित परिवारसँगै हामी पनि आन्तरिक रूपमा आहत हुन्छौं। धेरैजसो दुर्घटना लापरवाही र नियम उल्लङ्घनकै कारण हुन्छ।”

सप्ताहव्यापी कार्यक्रमको सुरुवात बिहीबार बिहान प्रभातफेरीबाट भएको थियो। ट्राफिक संकेत सहितका प्लेकार्ड र बाजागाजासहितको र्याली मलंगवा बजार परिक्रमा गरी नगरपालिका चोकमा सम्पन्न सभा कार्यक्रमसँगै ट्राफिक सप्ताहको औपचारिक सुरुवात गरिएको हो। आयोजकका अनुसार सप्ताहभरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू मार्फत स्थानीय बासिन्दामा ट्राफिक नियम पालनाको महत्वबारे सचेतना जगाउने योजना बनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार