महोत्तरीमा सर्पको डसाइले डिभिजन वन कार्यालयका कर्मचारीको मृत्यु

२०८२ जेष्ठ २२, बिहीबार १८:०८

सर्लाही — सर्पको डसाइका कारण डिभिजन वन कार्यालय महोत्तरीमा कार्यरत एक युवा कर्मचारीको मृत्यु भएको छ। गौशाला नगरपालिका–१०, लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय रुपेश महतोको बिहीबार बिहान उपचारको क्रममा ज्यान गएको हो।

डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई बुधबार राति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको प्रहरीले जनाएको छ। घटनापछि उनलाई तत्काल बर्दिबासको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो।

त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल, बर्दिबास लगिएको भए पनि डाक्टरहरूको प्रयास असफल हुँदै बिहीबार बिहान ५:१५ बजे उनको मृत्यु भएको हो। मृतक महतो करिब एक वर्षदेखि उक्त कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए। प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार