
सप्तरी — सप्तकोशी नदीमा विपद् उद्धार अभ्यास गर्दै गरेका सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्।
सशस्त्र प्रहरी बलका जवान सुरज साउद र हरदेव राजवंशी बिहीबार साँझ अभ्यासको क्रममा नदीमा बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको ५४ र ५५ नम्बर ढोकाको उत्तरपट्टि उद्धार अभ्यास चलिरहेका बेला उनीहरू पानीको बहावसँगै बगेर बेपत्ता भएका हुन्।
घटना बिहीबार अपरान्ह करिब ४ बजे भएको जनाइएको छ। सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढी तथा पहिरोबाट सम्भावित विपद् व्यवस्थापनको तयारीस्वरूप अभ्यास सञ्चालन गरिरहेको थियो। अभ्यासकै क्रममा दुई जना गोताखोरलाई पानीले बगाएको हो। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। खोजीका लागि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली सुनसरी र सप्तरीबाट परिचालन गरिएको छ।