‘झलनाथ खनाल प्रतिष्ठानमा भ्रष्टाचार: लालबन्दीका पूर्वमेयर र पूर्वमन्त्रीविरुद्ध सर्वोच्चमा पुनरावेदन

२०८२ जेष्ठ २२, बिहीबार १९:३८

सर्लाही – मधेश प्रदेश सरकारको सर्प विष संकलन तथा उत्पादन केन्द्र स्थापनासम्बन्धी परियोजनामा देखिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा समावेश सो परियोजना संघीय र प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालन हुने भनिएको थियो। तर, “झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल” नामक एक निजी संस्थालाई लागत साझेदारीबिनै सरकारी रकम उपलब्ध गराइएको आरोपमा आयोगले मुद्दा अघि सारेको हो।

आयोगका अनुसार परियोजनाअन्तर्गत भौतिक संरचना निर्माणका लागि गैरसरकारी संस्था तथा कम्पनीलाई नियमविपरीत रकम प्रवाह गरिएको थियो। यस आधारमा मधेश प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री विजय कुमार र लालबन्दी नगरपालिकाका पूर्वमेयर मान बहादुर खड्कासहितलाई प्रतिवादी बनाइ विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको थियो। तर, विशेष अदालतले २०८१ साल असार २५ गते आंशिक सफाइको फैसला सुनाएपछि आयोगले उक्त फैसलाप्रति असहमति जनाउँदै २०८२ साल जेठ २१ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार