
सर्लाही – सर्लाहीको मलंगवा नगरपालिका – १०, बसपार्कबाट लागुऔषधसहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ ५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा सर्लाही मलंगवा नगरपालिका–१० निवासी लक्ष्मण झाका २८ वर्षीय छोरा शनि झा, सोही वडाका कामेश्वर पण्डितका २८ वर्षीय छोरा मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका–२ औरही निवासी १८ वर्षीय पंकज कुमार राउतलाई नियन्त्रणमा लिएको हो।
उनीहरुको साथबाट नाईट्राभेट टेन लेखिएको लागुऔषध ८९ पातामा २,६७० चक्की फेला परेको प्रहरीले जनाएको छ। साथै, भारतीय नम्बर प्लेट भएका बिआर दुई वटा मोटरसाइकल (BR 32 X 1753 र BR 30 N 7825) समेत बरामद गरिएको छ।
पक्राउ परेका तीनैजनालाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। हाल उनीहरूलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।