अनियमितताको आरोपपछि मधेस प्रदेशमा संसदीय छानबिन समिति गठन

२०८२ जेष्ठ २२, बिहीबार २०:५१

सर्लाही – मधेस प्रदेश सरकारका विकास योजनामा भएको भनिएको अनियमितता छानबिनका लागि प्रदेशसभाले विशेष संसदीय समिति गठन गरेको छ।

प्रदेशसभाको बिहीबारको बैठकले ‘प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५’ को नियम १५२ अनुसार समितिको गठन गर्ने निर्णय गरेको हो। उक्त समिति प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा गठन गरिएको छ। सभामुख रामचन्द्र मण्डलले समितिमा १० जना सदस्यको नाम सार्वजनिक गरेका छन्।

ती सदस्यहरूमा केशव राय, कुमारकान्त झा, किरणकुमारी साह, शम्भुकुमार साह, रहबर अन्सारी, रविता प्रधान, कनिष पटेल, उर्मिला देवी सिंह, कञ्चन विच्छा र विमला अन्सारी छन्। सत्तापक्षको योजनाहरूमा पारदर्शिता नदेखिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरूले विशेष समिति गठनको माग गर्दै आएका थिए।

उनीहरूको आरोप छ— चालु आर्थिक वर्षका अधिकांश विकास योजना राजनीतिक पहुँचका आधारमा बाँडफाँड गरिएको छ र कार्यान्वयन प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ। समितिले अब योजनासम्बन्धी कागजातहरू अध्ययन गर्दै आवश्यक छानबिन अघि बढाउने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार