मलंगवा – कबिलासी नगरपालिकाको पहलमा र तराई मधेस कानुन विद्यार्थी समाज, काठमाडौं नेपालको सहकार्यमा सर्लाहीको सदरमुकाम मलंगवामा दुई दिने पत्रकारिता तालिम सुरु भएको छ।
तालिमको औपचारिक उद्घाटन कबिलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णले पानसमा दीप प्रज्वलन गरी गरेकी हुन्। उद्घाटन सत्रको अध्यक्षता पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष तथा आयोजक प्रतिनिधि बन्दना झाले गरिन्।

शुक्रबार र शनिबार सञ्चालन हुने तालिममा सञ्चारकर्मी रामबाबु खड्का र मनोज कुमार यादवले प्रशिक्षण दिइरहेका छन्। आयोजकका अनुसार तालिमको उद्देश्य सहभागी विद्यार्थीहरूलाई पत्रकारिताको आधारभूत ज्ञान दिनुका साथै सञ्चारप्रति उनीहरूमा जागरूकता बढाउनु रहेको छ।
शुक्रबारदेखि सुरु भएको तालिममा कबिलासी नगरपालिका क्षेत्रभित्रका तीन सामुदायिक विद्यालयका ४५ जना विद्यार्थी सहभागी छन्। सञ्चार क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूका लागि यो तालिमले उत्प्रेरकको भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
मलंगवास्थित महेन्द्र होटलमा सञ्चालन भइरहेको तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका उपरीक्षक देव बहादुर चन्द, नेपाल प्रहरीका नायब उपरीक्षक सरोज राई, नेपाली काँग्रेसका नेता तथा भूपू गाविस अध्यक्ष विनय कर्णलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।





