
सर्लाही – मधेश प्रदेशका धनुषा र सर्लाही जिल्लामा घरेलु हिंसाको सिकार हुने महिलामध्ये अधिकांश साक्षर रहेको तथ्यांकले देखाएको छ। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले संकलन गरेको पछिल्लो तीन महिनाको तथ्यांकले साक्षरताले महिलालाई हिंसाबाट जोगाउन सकेको छैन भन्ने गम्भीर यथार्थ उजागर गरेको हो।
जनवरीदेखि मार्च २०२५ सम्मको अवधिमा ओरेकले अभिलेखीकरण गरेका ६१ वटा लैङ्गिक हिंसाका घटनामध्ये ७७ प्रतिशत पीडित महिलाहरू साक्षर थिए। तीमध्ये सबैभन्दा बढी ५४ प्रतिशत महिलाहरू घरेलु हिंसाको सिकार भएका थिए, जसमा पनि अधिकांश साक्षर नै रहेका छन्।
ओरेकको विश्लेषण अनुसार घरेलु हिंसामा संलग्न हुनेमा सबैभन्दा ठूलो संख्या, ४९ प्रतिशत, पीडितका श्रीमान् रहेका छन्। जातीय समुदायका आधारमा हेर्दा, ७५ प्रतिशत घरेलु हिंसाका घटना मधेशी समुदायमा देखिएका छन्। तथ्यांक अनुसार, यौनजन्य हिंसा पनि गम्भीर रूपमै रहेको छ — २३ प्रतिशत घटनाहरू यौन हिंसासम्बन्धी छन्, जसमा बलात्कारका मात्रै ४४ प्रतिशत घटना रहेका छन्।
ओरेकले महिलामाथि हुने हिंसाका घटनाहरू अभिलेख गरी विश्लेषण गर्दै आएको छ। यसैबीच, नेपाल प्रहरीको चालु आर्थिक वर्षको सार्वजनिक तथ्यांक अनुसार देशभर हरेक वर्ष १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन्। साक्षरता बढ्दै जाँदा महिलाहरूको सशक्तीकरणको आशा गरिए पनि पछिल्लो तथ्यांकले हिंसाको सामना गर्न शिक्षा मात्र पर्याप्त नहुने संकेत गरिरहेको छ।