सर्लाही – पछिल्ला केही वर्षमा नेपालीहरुको स्थायी रूपमा देश छाडेर विदेश बसाइँ सर्ने संख्या तीव्र गतिमा बढेको छ। मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता, अराजकता, बेरोजगारी र सामाजिक समस्याहरुले गर्दा थकित नेपालीहरु अब स्थायी रूपमा विदेश गएर नयाँ जीवन शुरु गर्ने चाहना राख्न थालेका छन्।
सरकारी तथ्यांक अनुसार, पछिल्लो दुई वर्षमा मात्र करिब १ लाख ३७ हजार नेपालीहरूले स्थानीय तहबाट देश छाडेर विदेशमा स्थायी बसाइँ सरेका छन्। अध्यागमन विभागका अनुसार तीमध्ये पुरुषको संख्या महिला भन्दा बढी छ। २०७९/८० मा ७१ हजार २०७ जना पुरुष स्थायी बसाइँका लागि विदेश गएका थिए भने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ।
सन् २०२३ मा ७० हजार ९ सय १५ र २०२४ मा ६६ हजार ८ सय ३५ नेपालीले स्थायी रूपमा विदेश जाने अनुमति लिएका थिए। यो तथ्यांकले देखाउँछ कि ठूलो संख्यामा नेपालीहरू आफ्नो जीवन देशभन्दा बाहिर बिताउन चाहन्छन्। नेपालमा लगानीको वातावरण बिग्रिएर स्वदेशी पूँजी विदेश पलायन भइरहेको आशंका समेत उठिरहेको बेला, सरकारले यो प्रवृत्तिको विस्तृत पृष्ठभूमि ट्रयाक गर्न सकेको छैन।
स्थायी मात्र नभई अस्थायी रूपमा पनि ठूलो संख्यामा नेपालीहरूले विदेशको बाटो समातेका छन्। सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना तथा सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली अस्थायी बसाइँका लागि विदेश गएका छन्।
रोजगारीको खोजीमा पनि ठूलो संख्यामा नेपाली विदेश गएका छन्। सन् २०२३ र २०२४ मा मात्र करिब १६ लाख ६४ हजार ८ सय ३७ नेपालीले रोजगारीको लागि विदेश यात्रा गरेका छन्। अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा रोजगारीको लागि जानेहरूको संख्या सन् २०२३ भन्दा पनि वृद्धि भएको छ। विद्यार्थीहरूको संख्या पनि विदेश अध्ययनका लागि निरन्तर बढ्दो छ। दुई वर्षमा करिब २ लाख २७ हजार ९ सय ५१ विद्यार्थीहरूले विदेशी विश्वविद्यालय र शिक्षण संस्थामा भर्ना लिएर विदेश गएका छन्।
साथै, भिजिट भिसामा विदेश जाने नेपालीहरूको संख्या पनि वृद्धि भएको छ। सन् २०२४ मा करिब ४ लाख ७८ हजार ८ सय ४६ नेपाली घुमफिरका लागि विदेश पुगेका छन्, जुन सन् २०२३ भन्दा उल्लेखनीय वृद्धि हो। यसरी हेर्दा नेपालीहरूले आफ्नो भविष्यका लागि देश छाड्ने प्रवृत्ति बढ्दै गइरहेको छ, जसले नेपालको सामाजिक र आर्थिक अवस्थामाथि लामो समयसम्म गम्भीर प्रभाव पार्न सक्छ।







