सर्लाहीमा प्रहरीको नागरिक सुनुवाई: शान्ति सुरक्षाप्रति जनताको चासो, प्रशासनको प्रतिबद्धता

२०८२ जेष्ठ २३, शुक्रबार २०:४२

सर्लाही – नागरिकको गुनासो सुन्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सर्लाहीको सदरमुकाम मलंगवामा आज प्रहरीद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ।

मलंगवा नगरपालिका–३ स्थित नगरपालिका चोकमा आयोजित कार्यक्रममा सर्वसाधारण नागरिकले जिल्लामा बढ्दो चोरी, लागुऔषध दुर्व्यसन, र अन्य आपराधिक क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै सुरक्षा प्रवन्ध थप प्रभावकारी बनाउन माग गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्का लगायतले सहभागिता जनाएका थिए। उनीहरूले उपस्थित नागरिकका गुनासो सुन्दै शान्ति सुरक्षा कायम गर्न प्रहरीले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

एसपी खड्काले समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाउँदै अपराध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि प्रशासन जनताको सेवामा समर्पित रहेको बताउँदै समस्याहरूको समाधानमा समन्वयात्मक ढंगले अघि बढ्ने आश्वासन दिए।

कार्यक्रममा स्थानीयवासी, समाजसेवी, व्यापारी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रम नियमित गर्नुपर्ने सुझावसमेत दिएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार