सप्तरीको डकैती र हत्या घटना बुझ्न डिआइजी चतुर्वेदी घटना स्थलमा

२०८२ जेष्ठ २४, शनिबार ११:५९
मृतक कान्तलाल चौधरीको घरमा पुगेर शनिबार घटना अवस्था बुझ्दै मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी

सर्लाही – सप्तरीको सुरुङ्गा नगरपालिका–८ स्थित मल्हन टोलमा बिहीबार राति भएको डकैती तथा हत्या घटनाको अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी शनिबार बिहान घटनास्थल पुगेका छन्। ५० वर्षीय कान्तलाल चौधरीको डकैतीको क्रममा गोली हानी हत्या गरिएको घटनास्थलको स्थलगत निरीक्षणपछि डिआइजी चतुर्वेदीले दोषीलाई यथासिघ्र पक्राउ गरी कानूनअनुसार कारबाही गर्न सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडालाई निर्देशन दिएका छन्।

“यो अति गम्भीर र जघन्य अपराध हो,” चतुर्वेदीले पीडित परिवारलाई भेट्दै भने, “घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै पक्राउ गरी कानुनी कारबाही अघि बढाइनेछ।” उनले यस मामिलामा प्रहरी अझै गहिरो अनुसन्धानमा जुटेको जानकारी दिए। डिआइजीको निर्देशनअनुसार घटनापछि अनुसन्धानलाई तीव्र बनाइएको छ। तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अगाडि बढाइएको र एक जना शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा लिएको एसपी खतिवडाले जानकारी दिए।

उनका अनुसार जनकपुरस्थित मधेस प्रदेश प्रहरी कार्यालयबाट मगाइएको विशेष तालिमप्राप्त कुकुरको सहायताले प्रमाण संकलन र शंकास्पद गतिविधिको खोजी भइरहेको छ। घटनास्थलबाट प्रहरीले तीन राउन्ड जीवित गोली तथा एक गोलीको खोखा बरामद गरेको छ।

बिहीबार राति करिब १२ बजे चौधरीको घरमा डाका पर्न आएको समूहले प्रतिकार गर्ने क्रममा उनलाई गोली प्रहार गरेको थियो। गोली ढाँड र घाँटीको बीच भागमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा मृतकका भाइ रामाकान्त चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा चोट लागेका उनलाई उपचारपछी घर फर्काइएको एसपी खतिवडाले बताए। डकैतीमा संलग्न समूहले चौधरीको घरबाट करिब ५० हजार नगद, ५ तोला सुन, २ किलो चाँदी र अन्य सामाग्री लुटेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार