शिक्षामा उदाहरणीय बनेको मौलापुर, मधेस प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

२०८२ जेष्ठ २४, शनिबार १५:४८

सर्लाही – शिक्षामा ऐतिहासिक उपलब्धि हासिल गर्दै रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। पोखरामा सम्पन्न प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनमा मौलापुरलाई यो गौरवपूर्ण सम्मान प्रदान गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको हातबाट मौलापुर नगर प्रमुख रिना कुमारी साह ‘उत्कृष्ट पालिका पुरस्कार’बाट सम्मानित भइन्। पानले प्रत्येक वर्ष प्रदान गर्दै आएको यो अवार्ड यस वर्ष मौलापुरले हासिल गर्दै शिक्षा क्षेत्रमा आफ्नो अग्रणी भूमिका प्रमाणित गरेको छ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित मूल्यांकन समितिले शिक्षाका २५ वटा मापदण्डका आधारमा मौलापुरलाई मधेस प्रदेशकै अग्रणी नगरपालिका ठहर गरेको आयोजकले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार, मौलापुरले आफ्नो वार्षिक विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा खर्च गर्दै आएको छ।

त्यसकै परिणामस्वरूप, अघिल्लो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा नगरपालिका क्षेत्रका ७५ प्रतिशत विद्यार्थी सफल भएका थिए — जबकि प्रदेशको समग्र सफलता दर मात्र ३० प्रतिशत रहेको थियो।

नगर प्रमुख रिना कुमारी साह आम जनता पार्टीकी नेतृ हुन् र उनी दोस्रो कार्यकालका लागि निर्वाचित नगर प्रमुख हुन्। उनको नेतृत्वमा मौलापुरले शिक्षा मात्र होइन, समग्र विकासमा पनि उल्लेखनीय पहलहरू गर्दै आएको छ।

शून्य कर नीति, निःशुल्क विद्युत् र खानेपानी, र कृषि अनुदान कार्यक्रमहरूका कारण मौलापुरको नाम राष्ट्रियस्तरमै उदाहरणीय बनेको छ। शिक्षामा यस्तो अनुकरणीय सफलता हासिल गर्दै मौलापुरले देशभरिका स्थानीय तहहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार