अमेरिका र कतारको भ्रमण सकेर स्वदेश फर्किए राजेन्द्र महतो

२०८२ जेष्ठ २४, शनिबार १८:४५

सर्लाही – राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन्। महतो अमेरिका र कतारको भ्रमण सकेर शनिबार नेपाल फर्किएका हुन्।

उनी अमेरिका बसोबास गर्ने मधेसी समुदायको साझा संस्था ‘मधेसी एसोसिएसन इन अमेरिका (माँ)’ को चौथो राष्ट्रिय सम्मेलनमा सहभागी हुन जेठ ९ गते अमेरिका पुगेका थिए। अमेरिकामा विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाएपछि उनी जेठ २२ गते कतार गएका थिए। कतारमा पनि उनले मधेसी समुदायसँगको भेटघाट, छलफल तथा सामाजिक कार्यक्रमहरूमा सहभागी भएका थिए।

कतार प्रवासको क्रममा इदको अवसर पारेर ‘मधेसी एकता समाज’ ले आयोजना गरेको विशेष कार्यक्रममा उनले सहभागिता जनाएका थिए। सोही अवसरमा उनले कतारमा कार्यरत मधेसी श्रमिक र व्यवसायीसँग समेत भेटघाट गरेका थिए। महतोले प्रवासी मधेसीहरूसँगको सम्बन्ध सुदृढ बनाउनुका साथै उनीहरूका समस्या र अनुभव सुनेको र समाधानका लागि आफू सक्दो पहल गर्ने प्रतिबद्धता जनाए।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले मधेसको हक, समानता र सामाजिक न्यायका मुद्दामा आफू प्रतिबद्ध रहेको बताए। उनले विदेशमा रहेका नेपाली, विशेष गरी मधेसी समुदायले पनि नेपालको समृद्धि र सामाजिक एकतामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार