
जनकपुर – भारतको मणिपुर राज्य फेरि एकपटक तनावमा फसेको छ। शनिबार राति मेइतेई समुदायसँग सम्बद्ध नेता अरम्बाई तेङ्गोलको गिरफ्तारीपछि इम्फाल पूर्व र पश्चिम क्षेत्रमा झडप चर्किएको छ।
नेताकै समर्थनमा उत्रिएका प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै टायर र फर्निचर जलाएर आक्रोश व्यक्त गरे। उनीहरूले नेताको तत्काल रिहाइको माग पनि अघि सारेका छन्।
स्थिति बिग्रिन नदिन राज्यपाल अजय कुमार भल्लाले पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट र मोबाइल डेटा सेवा स्थगित गर्ने निर्णय गरेका छन्। प्रभावित जिल्लाहरूमा इम्फाल पूर्व, इम्फाल पश्चिम, थौबल, विष्णुपुर र काक्चिङ पर्छन्।
प्रशासनले जारी गरेको सूचनामा केही असामाजिक समूहले सामाजिक सञ्जाल प्रयोग गरी भडकाउने सामग्रीहरू—जस्तै उत्तेजक सन्देश, तस्बिर र भिडिओ—फैलाउन सक्ने सम्भावना औँल्याइएको छ। यस्तै कारणले इन्टरनेट बन्द गर्नु परेको जनाइएको छ। साथै, आदेश उल्लंघन गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।