मधेस प्रदेशमा प्रहरी सेवाबाट राजीनामा दिनेको संख्या बढ्दो, जागिरप्रति आकर्षण घट्दो

२०८२ जेष्ठ २५, आईतवार १०:२६
सांकेतिक तस्बिर

सर्लाही – कुनै समय मधेस प्रदेशका युवामाझ नेपाल प्रहरीको जागिरप्रति गहिरो आकर्षण रहँदै आएको थियो। तर पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेको संख्या बढ्दै गएको छ। विशेषगरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरू विभिन्न कारण देखाउँदै जागिर छोड्न थालेका छन्।

प्रहरी सेवाबाट राजीनामा दिनुको पछाडि कम तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणजस्ता कारणहरू रहेका छन्। प्रहरी जवानहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र हुने, जुन दैनिक खर्च र परिवारको पालनपोषणका लागि अपुग हुने गुनासो गरिएको छ।

प्रहरीलाई कुनै निश्चित कार्य समय नहुने, कहिलेकाहीँ १८ घण्टासम्म पनि ड्युटीमा खटिनुपर्ने बाध्यता हुन्छ। निजामती सेवामा ८ घण्टाको कार्य समय भए पनि प्रहरीलाई यथासमय, यथास्थान ड्युटीमा खटिनु पर्ने हुँदा मानसिक र शारीरिक थकान बढ्ने गरेको बताइएको छ।

अर्को समस्या पोसाक र सुविधाको अभाव पनि हो। प्रहरीहरूले तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक मात्र पाउने हुँदा दैनिक १८ घण्टासम्मको ड्युटीमा ती पोसाक पर्याप्त नहुने गुनासो छ। कतिपय अवस्थामा प्रहरीहरू फाटेका जुत्ता र पुराना पोसाकमै काम गर्न बाध्य हुने गरेका छन्।

ड्युटीको क्रममा घाइते भएका प्रहरीहरूको उपचार खर्च राज्यले नबेहोर्ने, कतिपयले खेत बेचेर वा ऋण लिएर उपचार गराउनु परेको पनि पाइएको छ। यस्तै, अन्य प्रदेशमा सरुवा हुँदा परिवारसँग टाढा रहनुपर्ने बाध्यताले पारिवारिक जीवनमा असन्तुलन आएको छ, जुन विशेषगरी मधेस र पहाडबीचको भौगोलिक दूरीका कारण अझ जटिल हुने गरेको छ।

प्रहरी सेवाबाट १६ वर्षपछि पेन्सनको व्यवस्था भए पनि सेवा अवधिको आधारमा सुविधा समान हुने भएकाले धेरैले १६ वर्ष नाघ्ने बित्तिकै जागिर छाड्ने गरेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ८३ जना प्रहरीले राजीनामा दिएका छन्। तीमध्ये एकजना बरिष्ठ सई, १४ जना असई, २१ जना बरिष्ठ हवलदार, ३१ जना हवलदार, ४ जना सहायक हवलदार, ९ जना जवान र ३ जना कार्यालय सहयोगी रहेका छन्।

यसबारेमा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले प्रहरी सेवाबाट राजीनामा दिने प्रवृत्ति देशैभर बढ्दो रहेको स्वीकार गर्दै महँगीअनुसार तलब र सुविधा नबढेकोले यस्तो अवस्था सिर्जना भएको बताएका छन्। उनका अनुसार प्रहरीका छोराछोरीको शिक्षाको ग्यारेन्टी, परिवारसहितको स्वास्थ्य उपचार, राशन तथा अतिरिक्त भत्ताको व्यवस्था गरिएमा प्रहरी सेवाप्रति पुनः आकर्षण बढ्न सक्नेछ।

एकजना अवकाशप्राप्त प्रहरी अधिकृतका अनुसार दीर्घकालीन समाधानका लागि तलब तथा सेवा सुविधा सुधार, पारदर्शी सरुवा र बढुवा प्रक्रिया, पारिवारिक जीवनसँग सन्तुलन कायम गर्ने नीति तथा पोसाक र उपकरणको समयमै आपूर्ति सुनिश्चित गर्न आवश्यक रहेको सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार