जनकपुर – भारतमा पुनः कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको छ।
पछिल्ला २४ घण्टामा मात्रै ७६९ नयाँ संक्रमित थपिएका छन् भने थप ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। मृत्यु भएका मध्ये ३ जना केरला राज्यका हुन् भने कर्नाटकमा २ जनाको मृत्यु भएको छ। त्यस्तै, तमिलनाडुमा ४२ वर्षीय एक पुरुषको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ।

राज्यगत विवरण हेर्दा केरला अत्यधिक प्रभावित देखिएको छ, जहाँ हाल १,९५० सक्रिय केसहरू छन्। त्यस्तै, गुजरातमा ८२२, दिल्लीमा ६८६, महाराष्ट्रमा ५९५, कर्नाटकमा ३६६, उत्तर प्रदेशमा २१९, तमिलनाडुमा १९४, राजस्थानमा १३२ र हरियाणामा १०२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले संक्रमण दर अझै बढ्न सक्ने चेतावनी दिँदै आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेका छन्। देशभर स्वास्थ्य परीक्षण, ट्र्याकिङ र निगरानीमा जोड दिइएको बताइएको छ।





