
सर्लाही – सर्लाही जिल्लामा प्रहरीले गैरकानुनी रूपमा ज्यादती गरेको आरोप लगाउँदै पाँच प्रमुख राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। उनीहरूले निर्दोष नागरिकमाथि झूठा मुद्दा लगाइएको भन्दै कडा आपत्ति जनाएका छन् र तत्काल सम्बोधन नभए आन्दोलनको चेतावनीसमेत दिएका छन्।
संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन राय, नेकपा एमालेका प्रदेश सदस्य सुरेश कुमार साह, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव, जसपा नेपालका जिल्ला संयोजक विजय कुमार यादव, र नेपाल समाजवादी पार्टी (नेसपा) का जिल्ला अध्यक्ष विरेन्द्र कुमार रायको हस्ताक्षर रहेको छ।
‘केही दलाल र स्वार्थी समूहहरूको इसारामा शान्ति सुरक्षामा खेलबाड गरिरहेको प्रहरी प्रशासनले निर्दोष नागरिकलाई झूठा अभियोगमा फसाउने काम गरिरहेकोप्रति हामी गहिरो चिन्ता प्रकट गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ। पार्टीका नेताहरूको आरोप छ कि प्रहरीले राजनीतिक प्रभावमा परी कानुन विपरित कदम चालिरहेको छ। विज्ञप्तिमा झूठा मुद्दा तुरुन्त फिर्ता लिइ पक्राउमा परेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न माग गरिएको छ।
माओवादी केन्द्रका नेता शिव पुजन रायले चेतावनी दिँदै भने, ‘यदि प्रहरी प्रशासनले हाम्रो मागको सम्बोधन नगरे सर्लाहीमा कडा संघर्षको बाटो रोज्न बाध्य हुनेछौं। त्यसबाट उत्पन्न हुने सबै नतिजाको जिम्मेवारी प्रशासनले लिनुपर्नेछ।’ उनले कांग्रेसका केही नेतामाथि ‘पावर र पैसाको प्रभाव’ प्रयोग गरी निर्दोष नागरिकलाई झूठा मुद्दामा फसाउने काम गरेको आरोपसमेत लगाए।
‘अब धेरै भयो, प्रहरी प्रशासन जनताको सुरक्षाका लागि हो कि केही नेताको निजी स्वार्थ पूर्ति गर्न? यसप्रकारको कार्य कानुनको ठाडो उल्लङ्घन हो,’ नेता रायले भने।विज्ञप्तिमा सर्लाहीको प्रशासनले अझै पनि होस नपुर्याए, आन्दोलनका थप चरण अगाडि बढाइने स्पष्ट संकेत गरिएको छ। दलहरूले निष्पक्षता र नागरिक सुरक्षाको सुनिश्चितताका लागि प्रशासनलाई गम्भीरतापूर्वक चेतावनी दिएका छन्।