मधेसमा विपद्को कहर: चालु वर्षमै ४ सय २२ जनाको मृत्यु, ५६ करोडको क्षति

२०८२ जेष्ठ २६, सोमबार ०७:२७
सांकेतिक तस्बिर

सर्लाही – मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को अवधिभर विभिन्न प्रकारका विपद्का घटनामा परेर ४ सय २२ जनाको मृत्यु भएको छ। मधेस प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आइतबार बर्दिबासमा आयोजित जनचेतनामूलक कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार बाढी, डुबान, चट्याङ, आगलागी, आँधीहुरी तथा जंगली जनावरको आक्रमणजस्ता घटनाले यो मानवीय क्षति पुर्‍याएका हुन्।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उक्त अवधिमा साना–ठूला गरी २ हजार २ सय ५८ विपद्का घटनाहरू दर्ज भएका छन्, जसमा ९०० जना घाइते भएका छन् भने आर्थिक हिसाबले प्रदेशले झन्डै ५६ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको क्षति बेहोरेको छ। प्रदेशका आठवटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण बर्खा सम्बन्धी विपद्को उच्च जोखिममा रहेको आकलन गरिएको छ, जुन ५२ हजार भन्दा बढी परिवारको प्रतिनिधित्व गर्छ।

कार्यक्रममा महोत्तरी, धनुषा र सर्लाहीका अधिकारीहरू, सुरक्षा निकाय, सेनाका प्रतिनिधि तथा विभिन्न सामाजिक सङ्गठनका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। उनीहरूले अधिकांश विपद् योजनाविहीन विकास र मानव निर्मित लापरबाहीका कारण भएको निष्कर्ष निकालेका थिए।

जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार सडक निर्माण गर्दा ढल बन्द गर्ने, पानीको प्राकृतिक बहाव रोक्ने, र सामग्री अनियन्त्रित रूपमा थुपार्ने जस्ता अभ्यासले डुबान र कटानजस्ता समस्या निम्त्याउने गरेका छन्। महोत्तरी जिल्लाका सात स्थानीय तह हरेक वर्ष बर्खासँगै डुबानको स्थायी जोखिममा पर्ने उनले बताए। स्थानीय तहबाट प्रारम्भिक नक्साङ्कन तथा पहलकदमी नहुँदा समस्या व्यवस्थापनमा चुनौती थपिएको सहभागीहरूको गुनासो थियो।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समेत प्रदेशस्तरमा विपद् पूर्वतयारीको अवस्था कमजोर रहेको स्वीकार गरे। यद्यपि, उनले यो वर्षदेखि बर्खाअघि नै योजनाबद्ध रूपमा जनधनको सुरक्षाका लागि तयारी सुरु गरिएको जानकारी दिए। साथै, आगामी आर्थिक वर्षको बजेटमा विपद् न्यूनीकरण तथा उद्धारसम्बन्धी कार्यक्रम समेटिने र प्रभावकारी कार्ययोजना निर्माण गरिने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार