रौतहटमा सशस्त्र प्रहरीको मोटरसाइकलको ठक्करबाट मृत्यु: एक महिना बित्दा पनि न राहत, न क्षतिपूर्ति

२०८२ जेष्ठ २६, सोमबार ०७:४७

सर्लाही – रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–४ निवासी ४२ वर्षीय अनुठा राय यादवको ज्यान गएको एक महिना बितिसक्दा पनि न दोषीमाथि कारबाही भएको छ, न त पीडित परिवारले क्षतिपूर्ति पाएका छन्।

गत वैशाख २४ गते सशस्त्र प्रहरी बल बेस क्याम्प, दुधियाभारमा कार्यरत हवल्दार सुवास सिंहले चलाएको बिआर-३०-७९३६ भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए। उनलाई वीरगन्जस्थित गण्डक अस्पतालमा भर्ना गरिए पनि केही दिनमै उनको निधन भएको थियो।

सोही दुर्घटनामा राम जिनिस साह पनि घाइते भएका थिए, जो अहिले बैशाखीको सहारामा हिँड्न बाध्य छन्। मृतकका परिवारले इलाका प्रहरी कार्यालय, गरुडामा उजुरी दिए पनि अहिलेसम्म दोषीमाथि कारबाही गरिएको छैन। पीडित पक्षले सुरक्षा निकाय तथा सरकारी वकिलमाथि मुद्दा ढाकछोप गर्ने प्रयास गरेको आरोप समेत लगाएका छन्।

आइतबार गरिएको पत्रकार सम्मेलनमा मृतकका परिवारका सदस्य र स्थानीय अगुवाहरूले हवल्दार सुवास सिंहले नै दुर्घटना गराएको दाबी गर्दै उनलाई जोगाउन अरू व्यक्तिको नाममा दोष थोपर्ने प्रयास भइरहेको जनाए। घाइते राम जिनिस साहले समेत अस्पतालमै प्रहरीहरूले अर्काको नाम लिन दबाब दिएको खुलासा गरेका छन्।

इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख डीएसपी राजन कार्कीले भने दुर्घटनामा फतुवा विजयपुर–४ का अर्जुन उर्फ गोपाल बैठा मुख्य अभियुक्त भएको र उनी फरार रहेको जानकारी दिए। तर अनुसन्धान अझै जारी रहेको उनले बताए।

दुःखी परिवारको भनाइमा, सुरुमा नेताहरूले क्षतिपूर्ति दिलाउने वाचा गरे पनि पछि सम्पर्कमा नआएको गुनासो छ। मृतकका छोरा राजेश यादवले भने, “गरिब भएकै कारण न्याय नपाउनु परेको हो भने हामी चुप लाग्ने छैनौं। अन्तिमसम्म लड्नेछौं।”

पीडित पक्षले यदि अब पनि दोषीमाथि कारबाही र क्षतिपूर्ति सुनिश्चित नगरिए जिल्लाका तीन सरकारी कार्यालयहरू ( जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय ) मा चरणबद्ध धर्ना तथा विरोध कार्यक्रम सुरू गर्ने चेतावनी दिएका छन्।

स्थानीय बासिन्दाले प्रहरीसँग संलग्न घटनामा ढिलासुस्ती र ढाकछोप हुने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। सामान्य नागरिक संलग्न घटनामा तत्काल कारबाही हुने तर सुरक्षाकर्मीले गल्ती गर्दा सजिलै उन्मुक्ति पाइने प्रवृत्तिले नागरिकस्तरमै राज्यप्रति असन्तोष बढेको देखिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार