जाजरकोटमा एक युवकलाई बाँधेर चक्कु प्रहार: दुई जना काठमाडौंबाट पक्राउ, एक जना अझै फरार

२०८२ जेष्ठ २६, सोमबार १६:३७

जाजरकोट — जाजरकोटको कुशे गाउँपालिका–८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार गरी फरार भएका तीनजनामध्ये दुई जना काठमाडौंबाट पक्राउ परेका छन्। घटना गत जेठ ६ गते बिहान करिब ८ बजे कुशे–५ स्थित एक होटलको आँगनमा भएको थियो।

स्थानीय गाडी समितिसम्बन्धी विवादका क्रममा सिंहमाथि कुशे–७ समकोटका २७ बर्षिय दिपेन्द्र सिंह, २७ बर्षिय तप्तबहादुर शाही उर्फ तप्त सिंह र २३ बर्षिय भिम सिंहले एक आपसमा मिलेर हातखुट्टा बाँधी धारिलो चक्कुले टाउको, निधार, हातखुट्टा र शरीरका विभिन्न भागमा आक्रमण गरेको आरोप छ।

घटनापछि तीनै जना फरार भएका थिए। प्रहरीका अनुसार फरार रहेका मध्ये दिपेन्द्र सिंह र तप्तबहादुर शाहीलाई काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्यांलाफाटबाट आइतबार राति ९ बजे पक्राउ गरिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सहकार्यमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

दुबैलाई जाजरकोट ल्याई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भिम सिंह भने अझै फरार छन्। घटनामा गम्भीर घाइते भएका आनन्द सिंहको नेपालगन्जस्थित अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार