युके पठाइदिने भन्दै करौडौ ठगि गर्ने धनुषाका एकसहित दुई जना पक्राउ

२०८२ जेष्ठ २६, सोमबार २१:०६

सर्लाही – विदेशी रोजगारको प्रलोभन देखाउँदै युके पठाइदिने भन्दै ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० निवासी र हाल काठमाडौं महानगरपालिका–६, सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ निवासी तथा हाल काठमाडौं महानगरपालिका–३२, नरेफाँटमा बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्।

पीडित महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्र पठाएको थियो। सोही आधारमा अनुसन्धान टोलीले आइतबार उनीहरूलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरूले युकेमा रोजगारीको आकर्षक प्रस्ताव दिँदै ३८ जना व्यक्तिलाई विश्वासमा पारेर कुल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सोमबार वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सतर्क रहन आम नागरिकलाई अपिल गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार