
सर्लाही – चुरे पहाडको फेदीबाट बग्दै आएको बागमती नदी वर्षा सुरु भएसँगै सर्लाही र रौतहट सीमावर्ती गाउँहरूमा त्रासको पर्याय बनेको छ। मनसुन सुरु हुन नपाउँदै स्थानीयहरूलाई बाढीको भयले सताउन थालेको छ।
सर्लाहीको बसवरिया गाउँपालिका–२, मानपुरका ६५ वर्षीय रामसेवक महतोले बर्खा लागेसँगै निद्रा हराउने गरेको बताए। “पानी परेपछि कहिले बाढी पस्छ भन्ने डरले रातभरि जागै बस्नुपर्छ,” उनले भने। उनका अनुसार गत वर्ष खोलाको ड्याम भत्किँदा गाउँ डुबानमा परेको थियो, जसबाट ज्यान जोगाउन मानिसहरू रातारात सुरक्षित स्थानतर्फ भागेका थिए।
बागमती नदीले हरेक वर्ष बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल र बसवरिया क्षेत्रका गाउँहरूमा डुबानको सन्त्रास छाड्दै आएको छ। रामनगर–१ का वडाध्यक्ष दिनेश यादवका अनुसार सहायक खोलासमेत मिसिने बागमती नदीको बहावले दक्षिण सर्लाहीका बस्ती र खेतीयोग्य जमिनमा गम्भीर असर पुर्याउने गरेको छ।
स्थानीय विश्वनाथ मुखिया भन्छन्, “गएको साल फुसको छाना भएको हाम्रो घर बगाइदियो बाढीले। हामी टिन ओढेर एक सातासम्म डुबानमा बस्न बाध्य भयौं।” बर्खा सुरु भएसँगै उनले यसपटक पनि उस्तै पीडाको पुनरावृत्ति हुने आशंका व्यक्त गरेका छन्।
बलरा–१ का किसान हरिशरण कापरका अनुसार, “बागमती बग्ने क्रममा खेला नछोईकन सीधै खेत र गाउँतिर पस्छ।” गत वर्ष उनले बाढीले आफ्ना अन्नपातसमेत बगाएको बताए। स्थानीय तहले समयमै पूर्वतयारी नगर्दा वर्षेनी विपद्को सामना गर्नुपरेको उनको गुनासो छ।
बाढीको जोखिम न्यूनीकरणका लागि बाँध निर्माण, मर्मत, जोखिम मूल्यांकन र सतर्कता आवश्यक भए पनि स्थानीय सरकारले प्रायः राहत वितरणमा मात्र सीमित हुने गरेको जनगुनासो छ। कापर भन्छन्, “समस्या भएपछि मात्र सक्रियता देखाउने होइन, पहिले नै तयारी हुनु जरुरी छ।”
तर स्थानीय तह भने पूर्वतयारीमा जुटेको दाबी गर्छ। बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहाले सुरक्षा निकायसँग सहकार्य गरेर उद्धार स्वयंसेवक तयार पारिएको बताए। उनका अनुसार, “बाढी, डुबान, आगलागीजस्ता विपद् हुँदा युवालाई तत्काल परिचालन गर्न तालिम दिइएको छ।”
स्थानीय सञ्चारकर्मी जितेश यादवका अनुसार, गत वर्षको बाढीले शैक्षिक संस्था बन्द हुनुका साथै खानेपानी र स्वास्थ्यजस्ता आधारभूत सेवामा ठुलो असर पारेको थियो।
बागमती नदी भारततर्फ प्रवेश गर्नुअघि लगभग तीन किलोमिटर चौडाइमा फैलिन्छ। भारतीय सीमा क्षेत्रमा बाँध र एसएसबी रोड निर्माणले गर्दा वर्षाको भेल स्वतन्त्र रूपमा बग्न नपाई नेपालतर्फ फर्कने र त्यसले गर्दा डुबानको अवस्था सृजना हुने स्थानीयको गुनासो छ।
बर्खा सुरु भएसँगै बागमती आसपासका नागरिक सतर्क अवस्थामा छन् प्राकृतिक विपद् सधैंको यथार्थ बनेको उनीहरूको जिन्दगी फेरि बाढीको दोहोरिने त्राससँगै थालिएको छ। – रासस