सर्लाही – प्रधानमन्त्री तथा राजर्षि जनक विश्वविद्यालयका कुलपति केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम भ्रमणमा आउँने भएका छन्। ओली विश्वविद्यालयको पहिलो ऐतिहासिक दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुन आउँन लागेका हुन्।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने दीक्षान्त कार्यक्रममा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्नेछन्। विश्वविद्यालयका अनुसार कुल ११५ जना विद्यार्थी दीक्षित हुँदैछन्, जसले २०८२ साल जेठ ५ गतेसम्म अध्ययन पूरा गरी ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका छन्।

समारोहमा विश्वविद्यालयका विभिन्न संकाय तथा शैक्षिक कार्यक्रमहरूबाट उत्कृष्ट प्रदर्शन गरेका १०–१० जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ। त्यस्तै, विश्वविद्यालयस्तरमा उत्कृष्ट चार जना विद्यार्थीलाई विशेष सम्मान गरिने जानकारी दिइएको छ। संघीय सरकारअन्तर्गत सञ्चालित राजर्षि जनक विश्वविद्यालयमा हाल चार संकायअन्तर्गत १३ शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।
ती कार्यक्रमहरूमा एमफिल, एमबीए, बीबीए, बीडीबीएम, बीई–सिभिल, बीआईटी, बीसीए, बीएस्सी–सीएसआईटी, बीपीएच, बीएस्सी–एमएलटी, बीएस्सी–एजी, बीए–एलएलबी तथा बीजेएमसी रहेका छन्। वि.सं. २०७४ साल कात्तिक १२ गते स्थापना भएको यस विश्वविद्यालयअन्तर्गत हाल पाँच वटा आंगिक क्याम्पसहरू सञ्चालनमा छन् भने देशभर ६८ वटा निजी क्याम्पसहरूले यस विश्वविद्यालयसँग सम्बन्धन लिएका छन्।





