
सर्लाही – रौतहट जिल्लाको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।
दुर्घटनामा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साहको मृत्यु भएको छ। संजय सवार मोटरसाइकल गएराति करिब १० बजे सडकमै रोकिएको ट्याक्टरको ट्रलीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उक्त मोटरसाइकलमा पछाडि सवार सोही स्थानका २१ वर्षीय राजन ठाकुर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र हाल स्वास्थ्य उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ना ६ त ८१०६ नम्बरको ट्याक्टरमा ईँटा लोड गरिएको थियो र दुद्यीयाभार चौक नजिकैको कालोपत्रे सडकमा बिग्रिएर रोकिएको थियो।
सोही ट्याक्टरमा प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय गरुडाले ट्याक्टर र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएको छ। ट्याक्टरका चालक तथा मालिकको पहिचान हुन नसकेकोले खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए।