
सर्लाही – रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, आर्थिक वर्षको वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ, जुन एक महिनामा हालसम्मकै उच्च रेकर्ड हो। यसअघि, वैशाख २०७९ मा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको थियो।
यसरी हेर्दा यो वर्षको वैशाखमा ४९ अर्ब रुपैयाँभन्दा बढीको वृद्धिसँगै नयाँ उचाइ कायम भएको देखिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो। वैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स आप्रवाह १०.५ प्रतिशतले बढ्दै ९ अर्ब ९६ करोड पुगेको छ। गत वर्ष यही अवधिमा भने डलरमा १४.८ प्रतिशत वृद्धिदर देखिएको थियो। यसैबीच, कुल ‘नेट ट्रान्सफर’ (खुद स्थानान्तरण) रकम १४ खर्ब ७९ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको १३ खर्ब १ अर्ब ७५ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो।
वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिभर ४ लाख ५ हजार ६१० जनाले नयाँ श्रम स्वीकृति (संस्थागत र व्यक्तिगत) प्राप्त गरेका छन् भने २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यसअघि फागुन महिनामा १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ विप्रेषण भित्रिएको रेकर्ड थियो, जुन अब वैशाखले तोडेको छ। रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा निरन्तर योगदान दिइरहेको सन्दर्भमा यस्तो वृद्धिलाई सकारात्मक संकेतको रूपमा हेरिएको छ।