
सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता तथा सांसद दिपेन्द्र कुमार ठाकुरसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। धनुषा जिल्लाको औरही गाउँपालिकामा निर्माणाधीन अस्पतालमा भएको अनियमिततासम्बन्धी छानबिनपछि अख्तियारले उक्त मुद्दा अघि बढाएको हो। अस्पताल निर्माणको जिम्मा लुम्बिनी/डी एण्ड एन जेभी तथा डी एण्ड एन बिल्डर्स प्रालिलाई दिइएको थियो।
ठाकुर सो कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक थिए।आयोगका अनुसार अस्पताल निर्माण प्रक्रियामा बोलपत्र मूल्यांकनका क्रममा न्यून रकम प्रस्ताव गर्ने प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभीलाई अस्वीकृत गर्दै उच्च लागतको प्रस्ताव राख्ने कम्पनी छनोट गरी राज्यलाई ६ करोड ६९ लाख १२ हजार ३८३ रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्याइएको आरोप छ। सबैभन्दा कम लागतको १२ करोड ३५ लाख ५० हजार २४८ रुपैयाँको प्रस्ताव अस्वीकार गर्दै १९ करोड १४ लाख ६२ हजार ६३२ रुपैयाँको प्रस्ताव पारित गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ।
मुद्दा दायर हुने अन्य व्यक्ति र निकायमा औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, उपाध्यक्ष मीरा देवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर, विभिन्न वडाका तत्कालीन अध्यक्षहरू, इन्जिनियर र खरिदारहरू तथा निर्माण कम्पनीका तत्कालीन पदाधिकारीहरू रहेका छन्।
ठाकुरसहित सबैमाथि सार्वजनिक निकायमा रहेका हैसियतको दुरुपयोग गर्दै सरकारी रकम हिनामिना गरेको आरोप लागेको हो। मुद्दा दर्ता भएसँगै ठाकुर मधेश प्रदेशसभाबाट स्वतः निलम्बनमा परेका छन्। उनी एमालेका प्रदेश संसदीय दलका उपनेता समेत हुन्। यो घटनासँगै मधेश प्रदेशमा एमालेका प्रदेशसभा सदस्य संख्या घटेर २४ मा झरेको छ।