नक्कली डीएसपी बनेर ६ लाख ठगी गर्ने दुई जना पक्राउ

२०८२ जेष्ठ २८, बुधबार १२:५४

सर्लाही – नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी)को नक्कली परिचय दिएर ठगी गरेको अभियोगमा दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्लाको चौँरी देउराली निवासी ४५ वर्षीय ज्ञानबहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, उनीहरूले हिरासतमा रहेका एक व्यक्तिको मुद्दा सुल्झाइदिने भन्दै पीडितसँग ६ लाख रुपैयाँ असुलेका थिए।

ठगीको उजुरीपछि उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपीलराज बोहराले जानकारी दिए। अनुसन्धानको क्रममा थाहा भएको अनुसार, पक्राउ परेका ज्ञानु तामाङ विगतमा समेत आपराधिक गतिविधिमा संलग्न भइसकेका छन्।

२० फागुन २०७० मा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा दोषी ठहर भई उनले ५ वर्ष कैद भोगेका थिए। यसअघि १६ वैशाख २०७० मा सार्वजनिक अपराध मुद्दामा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी मुद्दामा समेत उनी काठमाडौँ परिसरबाट नै पक्राउ परेका थिए। प्रहरीले ठगी, आपराधिक पुनरावृत्ति र नक्कली पहिचान प्रयोग गरेर समाजमा भ्रम सिर्जना गर्ने यस्ता घटनालाई नियन्त्रणमा ल्याउन कडाइका साथ कारबाही गरिने जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार