
सर्लाही – पछिल्लो समय देशभरि गर्मीको तापक्रम उच्च हुँदै गइरहेको छ। विशेषगरी तराई तथा केही पहाडी भू–भागहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछि स्वास्थ्यमा गम्भीर असर पर्न थालेको चिकित्सकहरू बताउँछन्। गर्मीको समयमा केही सावधानी अपनाउन सकेमा गर्मीजन्य रोगहरूबाट बच्न सकिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार गर्मीमा अत्यधिक पसिना आउनाले शरीरमा पानी तथा लवणको कमी हुने सम्भावना हुन्छ, जसले गर्दा हिट स्ट्रोक, निर्जलीकरण, टाउको दुख्ने, थकान, वान्ता, छाला पोल्ने जस्ता समस्या देखिन सक्छन्। यी समस्याबाट जोगिनका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ:
१. प्रशस्त पानी पिउनुहोस्
गर्मीमा शरीरबाट धेरै पसिना आउँछ, जसले गर्दा शरीरमा पानीको कमी हुन सक्छ। दिनमा कम्तीमा ३–४ लिटर पानी पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ। साथै नरिवल पानी, कागती पानी, लस्सीजस्ता पेय पदार्थले पनि शरीरलाई चिसो राख्न मद्दत गर्छ।
२. हल्का र चिसो कपडा लगाउनुहोस्
सुताको हल्का र फुर्सदिलो कपडा लगाउँदा शरीरले निसास्सिने महसुस गर्दैन। कालो वा गाढा रङको कपडाले गर्मी बढी सोस्ने भएकाले त्यसको साटो सेतो वा उज्यालो रङको कपडा लगाउनु उपयुक्त हुन्छ।
३. घाममा निस्किँदा छाता वा टोपी प्रयोग गर्नुहोस्
बाहिर निस्कनै परेमा छाता, टोपी, र सनग्लासको प्रयोग गर्नु अत्यावश्यक हुन्छ। दिउँसो ११ बजेदेखि ३ बजेसम्मको समयमा सकेसम्म बाहिर ननिस्कन चिकित्सकहरूको सुझाव छ।
४. खानपानमा ध्यान दिनुहोस्
गर्मीमा ताजा फलफूल, तरकारी, झोलिलो परिकार खाने बानी बसाल्नुपर्छ। तेलिलो, मसलेदार तथा बाँकी बसी राखिएको खाना खानुहुँदैन, यसले फूड प्वाइजनिङको खतरा बढाउँछ।
५. बालबालिका र वृद्धबृद्वाहरूको विशेष हेरचाह गर्नुहोस्
यी उमेर समूहका मानिसहरूमा प्रतिरोधात्मक क्षमता कम हुने भएकाले तिनीहरूलाई हावा चल्ने ठाउँमा राख्नुपर्छ। बढी पसिना आएको देखिएमा चिसो पानी पिउन दिनु र सकेसम्म घरभित्रै राख्नु उपयुक्त हुन्छ।
६. घरभित्रको तापक्रम कम गर्न उपाय अपनाउनुहोस्
पङ्खा, कूलर वा वातानुकूलित यन्त्रको प्रयोग गर्नुका साथै घरभित्र धेरै ताप नफैलियोस् भनेर पर्दा लगाउनु र बिहान–साँझ झ्याल खोलेर हावा सर्कुलेसन गराउनु राम्रो उपाय हो।
गर्मीले हुने समस्या गम्भीर पनि हुन सक्छ, त्यसैले लक्षण देखिएमा घरमै बस्नुभन्दा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नु उपयुक्त हुन्छ। चर्को गर्मीले सामान्य स्वास्थ्य समस्या देखिए पनि समयमै सजग नभएमा जटिल अवस्था उत्पन्न हुन सक्छ। त्यसैले आजैदेखि यी सावधानी अपनाऔं र आफूलाई र आफ्ना परिवारलाई सुरक्षित राखौं।