
सर्लाही – ६२८औँ सन्त कवीर दिवसको पावन अवसरमा मिथिला नगरपालिका–२, वेलाचापीस्थित सतलोक आश्रममा एक विशेष सामाजिक कार्यक्रमको आयोजना गर्दै १५ नवजोडीको दाइजोमुक्त सामूहिक विवाह सम्पन्न गरिएको छ। विवाहमा सहभागी नवविवाहितमध्ये ९ जोडी नेपालका र ६ जोडी भारतका रहेका छन्।
मधेस प्रदेशमा गहिरो रूपमा जरा गाडेको दाइजो प्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यो आदर्श विवाहले समाजमा नवीन उदाहरण प्रस्तुत गरेको आश्रमका असुर निकन्द रमैणीले जानकारी दिनुभयो। वैदिक विधिअनुसार सम्पन्न विवाह कार्यक्रम १७ मिनेटमै सम्पन्न गरिएको थियो।
सतलोक आश्रमले तीनदिने समारोहको आयोजना गर्दै सामाजिक, धार्मिक तथा सेवामूलक कार्यक्रम अन्तर्गत विशाल भण्डारा, रक्तदान तथा निःशुल्क भोजन वितरणजस्ता गतिविधि समेत सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागी नवजोडी र उनीहरूका अभिभावकहरूले दाइजो रहित विवाहले समाजलाई जागरुक बनाउने उल्लेख गर्दै यस्ता पहलको प्रसंशा गरेका थिए।
पर्सा जिल्लाको वहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले समाज सुधारका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो। यसै अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत घोषणा गरेको थियो।