
सर्लाही – प्रेस सेन्टर नेपालले दुई अनलाइन सञ्चारमाध्यममाथि अदालतबाट आएको समाचार हटाउने आदेश र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन तथा यस्ता विषयमा आगामी दिनमा नलेख्न काठमाडौं जिल्ला अदालतले जारी गरेको आदेशप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
त्यसैगरी, सोही अदालतबाट पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनु अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भएको भन्दै प्रेस सेन्टरले आपत्ति जनाएको छ। सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा प्रेसमाथिको यस्तो दमन लोकतान्त्रिक मूल्य र संवैधानिक अधिकारविपरीत भएको उल्लेख गरिएको छ।
समाचारसम्बन्धी विषयमा नियामक निकायको रूपमा प्रेस काउन्सिल नेपाल रहेकै अवस्थामा अदालत समक्ष मुद्दा दायर गरिनु र त्यसकै आधारमा समाचार हटाउन तथा प्रकाशनमा रोक लगाउने आदेश आउनु अत्यन्तै दुर्भाग्यपूर्ण र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको प्रेस सेन्टरको धारणा छ।
विज्ञप्तिमा भनिएको छ, “न्यायालयबाट पटक–पटक यस्ता आदेश आउनु र समाचार लेखेकै कारण पत्रकारमाथि कानुनी कारवाही थालिनु कुनै संयोग मात्र होइन, यो नियोजित प्रयास हुनसक्छ।”
प्रेस सेन्टर नेपालले घटनाको प्रत्यक्ष जिम्मेवारी सरकार, गृहमन्त्री र गृह प्रशासनले लिनुपर्ने बताउँदै पत्रकार पाठकलाई लक्षित गरी भइरहेको पक्राउ तयारी तत्काल रोकिनुपर्ने माग समेत राखेको छ।