सर्लाही – प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी अस्पतालमा कार्यरत सुरक्षाकर्मीहरूलाई एकताबद्ध भावना र सेवामुखी सोचसहित सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको निरीक्षणपछि आयोजित छलफल कार्यक्रममा बोल्दै आईजीपी थापाले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत प्रहरीजनले संवेदनशीलता, सद्भाव र अनुशासित व्यवहारमार्फत सेवा दिनुपर्ने आवश्यकता औंल्याए।

उनले अस्पतालबाट प्रदान गरिने सेवा गुणस्तरीय, समर्पित र जनमैत्री बन्नु पर्नेमा जोड दिँदै अस्पतालको समग्र सेवा प्रवाह, कर्मचारी व्यवहार तथा व्यवस्थापन प्रक्रियामा सुधार ल्याउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
आईजीपी थापाले नेपाल प्रहरी अस्पतालअन्तर्गत रहेको स्कूल अफ हेल्थ साइन्सेज भवनमा सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमहरूको अवलोकन गर्नुका साथै आकस्मिक कक्ष, विभिन्न विभाग, वार्ड तथा फार्मेसीसहित अस्पतालका विभिन्न सेवा एकाइहरूको स्थलगत निरीक्षण गरे।
कार्यक्रमका क्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजु तथा प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको संरचना, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा, प्रविधिको प्रयोग, अन्तरसंस्थागत समन्वय, कल्याण कोष, नीति कार्यान्वयन, कर्मचारी केन्द्रित कार्यक्रम, चुनौतीहरू र आगामी योजना सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेका थिए।





