
मलंगवा – नेपाललाई लोडसेडिङमुक्त बनाउँदै ऊर्जा क्षेत्रको कायापलट गर्नेमध्येका एक प्रमुख अभियन्ता, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीमा नागरिक सम्मान प्रदान गरिएको छ।
हरिवन नगरपालिका–११ स्थित सरस्वती पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नागरिक अभिनन्दन मूल समिति, सर्लाहीको आयोजनामा उनलाई सम्मान गरिएको हो। कार्यक्रमको प्रमुख आकर्षणका रुपमा रहेका घिसिङले भावुक हुँदै, आफूलाई सरकारले कार्यसम्पादनको मूल्याङ्कनमा १३ अंक दिएर पदमुक्त गरे पनि जनताको अपार माया, सद्भाव र समर्थन निरन्तर पाउँदै आएको बताएका छन्।
घिसिङले आफ्नो कार्यकालमा विद्युत् सेवा ३० लाख परिवारबाट बढाएर ६२ लाख परिवारसम्म पुर्याएको उल्लेख गरे। त्यसमध्ये २५ लाखभन्दा बढी नेपाली नागरिकले अत्यन्त न्यून शुल्कमा विद्युत सेवा प्राप्त गरिरहेको उनले बताए। उनले भने, “सरकारबाट बर्खास्त हुने त बिदाइको प्रक्रिया थियो, तर जनताको प्रेम र विश्वास मेरो सबैभन्दा ठूलो उपलब्धि हो।”
कार्यक्रममा घिसिङले ‘डेडिकेटेड लाइन’ सम्बन्धी विवादमा व्यापारी हितमा केन्द्रित सरकारी नीति र दबाबका कारण आफूलाई किनारा लगाइएको आरोपसमेत लगाए। उनले थपे, “जब सरकार नागरिक होइन, व्यापारीको पक्षमा उभिन थाल्छ, तब परिवर्तनको बाटो बन्द गरिन्छ।
तर म फेरि पनि जनताको सेवामा समर्पित छु।” ऊर्जा क्षेत्रमा ऐतिहासिक सुधार गर्दै नेपाल विद्युत प्राधिकरणलाई इतिहासकै उच्च नाफामा पुर्याएको दाबी गर्दै, घिसिङले आफूले देखाएको परिवर्तनको बाटो जनताको साथमा अझ बलियो हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय नागरिक, बुद्धिजीवी तथा युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक समितिका अनुसार, कुलमान घिसिङको ऊर्जा नेतृत्वप्रति कृतज्ञता प्रकट गर्न नागरिक तहबाट सम्मानको यो प्रयास गरिएको हो।
सम्बन्धित खबर:
– कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन गरिने