दमास्कस, सिरिया — सिरियाली सरकारले हालै देशमा एक नयाँ ड्रेस कोड लागू गर्ने निर्णय गरेको छ, जसअनुसार महिलाहरूले सार्वजनिक समुद्र तट तथा पौडी क्षेत्रहरूमा शरीर पूरै ढाक्ने पोशाक अनिवार्य रूपमा लगाउनु पर्नेछ।
यो निर्णय हालै सत्ता सम्हालेका अन्तरिम राष्ट्रपति अहमद अल-शाराको नेतृत्वमा आएको हो, जसले सांस्कृतिक र सामाजिक मूल्यहरूमा परिवर्तन ल्याउने अभियानस्वरूप यस प्रकारको कदम उठाइएको जनाइएको छ।

पर्यटनमन्त्री माजेन अल-सलहानीका अनुसार, यो कदम समाजका विविध वर्गहरूको संवेदनशीलता र मर्यादालाई मध्यनजर राखी चालिएको हो। “सार्वजनिक ठाउँमा जाने स्थानीय तथा विदेशी पर्यटकहरूले सम्मानजनक तथा मर्यादापूर्ण पोशाक लगाउनु पर्छ,” उनले भने। नयाँ आदेशअनुसार महिलाहरूले बुर्किनी वा यथासम्भव सम्पूर्ण शरीर ढाक्ने पोशाक लगाउनु पर्नेछ।
नियम केवल महिलामै सीमित छैन। पुरुषहरूलाई पनि सार्वजनिक स्थलहरूमा शर्ट बिना देखिन निषेध गरिएको छ। तथापि, पौडी खेल्ने क्षेत्र, होटलका लबी तथा भोजन कक्षमा भने केही छुट दिइएको छ। आदेशमा भनिएको छ कि सार्वजनिक स्थलहरूमा काँध र घुँडा ढाक्ने खालका खुकुला पोशाक प्रयोग गर्नुपर्नेछ, र पारदर्शी वा अत्यधिक टाइट लुगा प्रयोग नगर्न सल्लाह दिइएको छ।
पश्चिमी शैलीका पौडी पोशाकहरू भने केही विशिष्ट स्थानहरूमा मात्र अनुमति हुनेछन्। अन्तर्राष्ट्रिय स्तरका प्रिमियम रिसोर्टहरू, चारतारे वा सोभन्दा माथिका होटलहरू, र निजी समुद्र तट तथा पौडी क्षेत्रहरूमा यस्ता पोशाक लगाउन सकिनेछ।
राष्ट्रपति अल-शाराले यस नयाँ ड्रेस कोडसम्बन्धी निर्देशिकालाई औपचारिक रूपमा अनुमोदन गरेका छन्। विश्लेषकहरूका अनुसार, यो कदम देशमा बढ्दो इस्लामिक प्रभावको संकेत हो। मार्च महिनामा उनले अन्तरिम संविधानमा हस्ताक्षर गरेका थिए, जसअनुसार आगामी पाँच वर्षसम्म इस्लामिक शासन व्यवस्था अनिवार्य हुने छ।
सिरिया अहिले पर्यटन पुनरुत्थानको प्रयासमा लागेको छ। गत महिना अमेरिकी सरकारले सिरियामाथि लगाइएको केही प्रतिबन्ध हटाएपछि, सरकारले अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने दिशामा नयाँ नीतिहरू ल्याउन थालेको हो।





