सर्लाही – पछिल्लो पाँच महिनाको अवधिमा चितवनमा एचआईभी एड्सका ५२ जना नयाँ संक्रमित फेला परेका छन्। भरतपुर अस्पताल अन्तर्गत सञ्चालित एएचएफ नेपाल सेवाकेन्द्रमा दर्ता भएका नयाँ संक्रमितमध्ये २३ जना चितवनकै स्थानीय हुन् भने बाँकी अन्य जिल्लाबाट सरेर आएका बिरामी हुन्।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाका अनुसार सन् २०२५ को पहिलो पाँच महिनामा ती संक्रमित सेवा केन्द्रमा थपिएका हुन्। तीमध्ये कतिपयले अस्पतालमै परीक्षण गराएका थिए भने अन्यलाई समुदायस्तरमा गरिएको परीक्षणबाट पहिचान गरिएको हो।

हाल एएचएफ नेपालमार्फत नियमित रूपमा औषधि सेवन गर्नेको संख्या १,१८८ पुगेको छ। तीमध्ये ५८२ जना पुरुष, ५५८ महिला, ३० बालबालिका र १८ जना तेस्रोलिंगी छन्। औषधि सेवनका लागि माडीस्थित बघौँडा अस्पताल र नवलपुरको डण्डास्थित मध्यविन्दु अस्पतालमा स्थानान्तरण भएका ५५ संक्रमितमध्ये केही फेरि भरतपुर फर्किएका छन्।
तीमध्ये पाँच जना बिरामी पुनः सेवा लिन भरतपुर अस्पतालको केन्द्रमा आएका हुन्। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार नियमित औषधि सेवन गर्दै आएका बिरामीलाई पोषणयुक्त खानाको व्यवस्था, एम्बुलेन्स सेवा, उपचार सहयोग, साथै असहायलाई खाद्यान्न सहायता जस्ता अतिरिक्त सेवाहरू पनि प्रदान गरिन्छ।
तर, भाइरल लोड परीक्षणका लागि आवश्यक पर्ने किट अभावको समस्याले चुनौती थपेको डा. सापकोटाले जनाएका छन्। ‘हाललाई केही व्यवस्थापन गरिएको छ तर एक महिनापछि पुनः अभाव हुन सक्ने चिन्ता छ,’ उनले भने। सङ्क्रमण दर बढ्दै जाँदा समयमै परीक्षण, उपचार र सचेतना अभिवृद्धि गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको स्वास्थ्यकर्मीहरू बताउँछन्।





