बालेन शाहविरुद्ध लिफ्ट जडान प्रकरणमा अख्तियारमा उजुरी

२०८२ जेष्ठ २९, बिहीबार १४:१३

सर्लाही – काठमाडौं महानगरपालिका अन्तर्गत लिफ्ट जडान प्रक्रियामा अनियमितता भएको भन्दै मेयर बालेन शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

अधिवक्ता युवराज सफलले अख्तियारमा दिएको उजुरीमा बिना टेण्डर, बिना प्रतिस्पर्धा र बिना कोटेसन लिफ्ट जडान गरिएको दाबी गरिएको छ। उनले यस विषयमा गम्भीर अनुसन्धान गरी कानुनी कारबाहीको माग गरेका छन्।

उजुरीमा सफलले भनेका छन्, “सरकारी वा सार्वजनिक निकायले कुनै पनि निर्माण वा खरिद गर्दा बोलपत्रमार्फत प्रक्रिया अघि बढाउनु अनिवार्य हुन्छ। काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गर्दा त्यस्तो प्रक्रिया नअपनाएको देखिन्छ।”

उनले लिफ्ट जडानसम्बन्धी सम्पूर्ण प्रक्रिया, निर्माण कम्पनीको विवरण, टेण्डर र बोलपत्रसम्बन्धी कागजात, निर्माण स्वीकृतिका फाइलहरू, भुक्तानी विवरण, बिल र भौचरलगायतका सम्पूर्ण अभिलेखहरु माग गरिँदै अनुसन्धानको माग गरेका छन्।

सफलले अख्तियारसँग मेयर बालेनको संलग्नतामा भए/नभएका सम्भावित अनियमितता र भ्रष्टाचारको यथार्थतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न आग्रह गरेका छन्। अहिलेसम्म मेयर बालेन शाह वा काठमाडौं महानगरको तर्फबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार