श्री नेरा प्रा.वि. जमुनियाको विव्यस अध्यक्षमा नूर आलम बादशाह सर्वसम्मत चयन

२०८२ जेष्ठ २९, बिहीबार १५:१७

बारा — बाराको आदर्श कोतवाल गाउँपालिका – १, जमुनियास्थित श्री नेरा प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा नूर आलम बादशाह सर्वसम्मत रुपमा चयन हुनु भएको छ।

स्थानीय अभिभावक, शिक्षा प्रेमी तथा सरोकारवाला पक्षहरूको एकमतबाट अध्यक्षमा निर्वाचित हुनुभएका बादशाहले पद ग्रहण पश्चात सबैप्रति आभार प्रकट गर्नुभएको छ।

“श्री नेरा प्रा.वि. जमुनिया बाराको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी सर्वसम्मतबाट मलाई सुम्पिनुहुने आदरणीय अभिभावक, शिक्षा प्रेमी लगायत सम्पूर्ण महानुभावहरूमा म हार्दिक आभार प्रकट गर्दछु,” नवनियुक्त अध्यक्ष नूर आलम बादशाहले भन्नुभयो।

उहाँले विद्यालयको शिक्षामा सुधार, विस्तार र गुणस्तर अभिवृद्धि गर्दै स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न आफ्नो सम्पूर्ण प्रयास रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, यस अभियानमा सबैको निरन्तर साथ र सहयोग रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

स्थानीय तहदेखि अभिभावकसम्मले नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गर्दै विद्यालयको शैक्षिक विकासमा उल्लेखनीय सुधार आउने आशा गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार