
सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडान योजनामा ठूलाे आर्थिक अनियमितता भएको ठहर गर्दै तत्कालीन अध्यक्षसहित १० जना सरकारी कर्मचारी तथा तीन निजी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्य बत्ती जडानका लागि छुट्याइएको २ करोड ४९ लाख रुपैयाँ बजेटलाई अनियमित ढंगले टुक्र्याएर खर्च गरिएको थियो। यस प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमको उल्लंघन गरिएको ठहर गर्दै अख्तियारले मुद्दा अघि बढाएको हो।

मुद्दामा चक्रघट्टाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, लेखापाल संजय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब-इञ्जिनियरहरू सन्तोष राय र राजु राय प्रतिवादीका रूपमा समावेश गरिएका छन्।
त्यस्तै, मलंगवास्थित स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोप्राइटर जय प्रकाश यादव, एस.के. स्टोर्सकी सञ्चालिका रञ्जु कुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालकी सञ्चालिका संगिता कुमारीविरुद्ध पनि भ्रष्टाचारको अभियोग लगाइएको छ।
अख्तियारले सार्वजनिक स्रोतको दुरुपयोग गरी व्यक्तिगत लाभ उठाउन खोजिएको भन्दै सबै प्रतिवादीहरूलाई कानूनी दायरामा ल्याउन विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।