
रौतहट — पूर्वपश्चिम राजमार्गको चन्द्रपुर–१ स्थित बागमती खण्डमा सवारीको ठक्करले एक पैदलयात्रुको ज्यान गएपछि आक्रोशित स्थानीयले सडक अबरुद्ध गरेका थिए। करिब ६ घण्टासम्म आवागमन ठप्प भएपछि प्रहरीसँगको छलफलपछि राजमार्ग पुनः सञ्चालनमा आएको हो।
मंगलपुर निवासी ३५ वर्षीय बुद्ध जिम्बा विहान घरबाट बाहिर निस्कने क्रममा अज्ञात सवारी साधनले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। सवारी ठक्कर दिएर फरार भएकाले स्थानीय आक्रोशित बनेका थिए र राजमार्ग अवरुद्ध गर्दै दोषी पत्ता लगाउन दबाब दिएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईको नेतृत्वमा प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ। उनले २४ घण्टाभित्र ठक्कर दिने सवारी पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि स्थानीयले अवरोध हटाएका हुन्।
“हामीले एक शंकास्पद सवारी नियन्त्रणमा लिएका छौं र थप अनुसन्धान जारी छ,” डीएसपी राईले जानकारी दिए। सवारी ठक्करपछि फरार भएको भन्दै प्रहरीले राजमार्गमा रहेका सीसीटीभी फुटेजहरू विश्लेषण गरिरहेको छ। साथै, ट्राफिक प्रहरीले सवारी जाँच कडा बनाएको छ।
ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार सडक बन्द हुँदा सयौं सवारी साधन बाटोमै रोकिएका थिए, यात्रुहरू लामो समय अलपत्र परेका थिए। पीडित परिवारले प्रहरीको आश्वासनपछि शव पोस्टमार्टमका लागि अस्पताल पठाएका छन्। घटनाले स्थानीयस्तरमा सडक सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।
सम्बन्धित खबर:
– रौतहटको मंगलपुरमा अज्ञात गाडीको ठक्करबाट युवकको मृत्यु, राजमार्ग अवरुद्ध