
सर्लाही – कांग्रेस नेता मोहम्मद अफ्ताव आलमसम्बन्धी मुद्दामा फैसला सुनाउने उच्च अदालत जनकपुरका न्यायाधीश खुसीराम थारुमाथि दुर्व्यवहार गरेको अभियोगमा नेकपा (बहुमत) निकट तीन जना कार्यकर्ता पक्राउ परेका छन्।
अदालतको अस्थायी इजलास रहेको वीरगन्ज परिसरमै न्यायाधीशमाथि मसी छ्याप्दै अभद्र व्यवहार गरेका ती तीन जनाको भिडियो सार्वजनिक भएसँगै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमध्ये एक जना नेकपा (बहुमत) का केन्द्रीय सदस्य समेत रहेका छन्।

उनी प्युठानको गौमुखी नगरपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बसोबास गर्ने अविनाश उर्फ किशोर कुँवर हुन्। अन्य दुई जनामा सर्लाहीको बरहथवा नगरपालिका–२ निवासी ४३ वर्षीय पदमबहादुर मगर र सिराहाको गोलबजार नगरपालिका निवासी ४८ वर्षीय गर्भु महतो रहेका छन्। मगर नेकपाका सर्लाही जिल्ला इन्चार्ज र महतो जिल्ला समिति सदस्य रहेको खुलेको छ।
प्रहरीका अनुसार धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको नेकपा (बहुमत) पार्टीका यी कार्यकर्ताहरू अदालत परिसरभित्रै प्रवेश गरी “जनताको विरुद्धमा फैसला गर्ने” भन्दै नाराबाजी गरेका थिए। त्यसक्रममा उनीहरूले न्यायाधीशमाथि मसी छ्यापेर दुर्व्यवहार गरेका थिए।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका एक कर्मचारीले आफू कार्यालयबाट बाहिरिएपछि विवाद भइरहेको थाहा पाए पनि प्रारम्भिक अवस्थामै घटनाको स्पष्ट जानकारी नपाएको बताएका छन्। हाल तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।