मधेश प्रदेशका सांसद सरोज कुश्वाहा भ्रष्टाचार अभियोगमा पक्राउ

२०८२ जेष्ठ २९, बिहीबार १८:३४

सर्लाही – मधेश प्रदेश सभाका सांसद सरोज कुमार सिंह कुश्वाहा पक्राउ परेका छन्।

अख्तियार स्रोतका अनुसार उनी काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ परेका हुन्। विकास निर्माणका कार्यहरूमा उपभोक्ता समितिमार्फत् अनियमितता गरी कमिशन लिएको अभियोगमा सांसद कुश्वाहालाई नियन्त्रणमा लिइएको हो।

अनुसन्धानबाट २०७६ सालदेखि उनी परियोजनाको २५ देखि ३० प्रतिशत रकम आफ्नै बैंक खातामा सिधा निक्षेप गराउँदै आएको तथ्य उजागर भएको आयोगले जनाएको छ।

अख्तियारले अब कुश्वाहाको सम्पत्ति विवरण संकलन गरी थप छानबिन अघि बढाउने तयारी गरेको छ। भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धतासहित आयोगले यस प्रकारका कार्यमा संलग्न अन्य पात्रहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउने संकेत दिएको छ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए । घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार